Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल सुपर लिग : चितवन र झापाले बराबरी खेले

नेपाल सुपर लिग : चितवन र झापाले बराबरी खेले

इच्छाकामना न्युज

२४, चैत्र २०८१
नेपाल सुपर लिग : चितवन र झापाले बराबरी खेले
images

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आइतबार चितवन एफसी र झापा फुटबल एफसीले १–१ गोल बराबरी खेलेका छन्।

images
images

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवनका टोरिक जेब्रिन र झापाका अल्हाजी गेरोले गोल गरे। खेलको २८ औँ मिनेटमा जेब्रिनले गोल गरेपछि चितवनलाई खेल सहज भएको थियो तर खेलकै इन्जुरी समयमा गेरोले पेनाल्टीमा बराबरी गोल गरेपछि चितवन स्तब्ध बन्यो।

शिशिर लेखीको पासमा जेब्रिनले नजिकबाट बल गोलपोस्टमा छिराएका थिए। सो गोलले चितवन लगातार तेस्रो जिततर्फ अग्रसर थियो तर इन्जुरी समयको पहिलो मिनेटमा नीरज चौधरीले आरन थापालाई डिबक्समा लडाएपछि रेफ्री कविन व्यञ्जनकारले पेनाल्टी दिए।

जसले झापाले खेलमा फर्किने अवसर पायो। सो अवसरलाई नाइजेरियाली खेलाडी गेरोले सदुपयोग गरे। जारी प्रतियोगितामा झापाको यो पहिलो गोल भएको छ।यसैगरी चितवनले पहिलो गोल बेहोरेको हो।

यसअघि खेलको पाँचौँ मिनेटमै चितवनका भिक्टर मानसारेले बक्सको ‘एज’ बाट गरेको प्रहार झापाका गोलरक्षक अन्जल श्रेष्ठले बचाए। तीन मिनेटपछि शिशिरले प्रहार गरेको बल गोलपोस्टमा लाग्दा चितवनले भाग्यको साथ पाएन। १० औँ मिनेटमा झापाका गेरोले बक्स भित्रबाट गरेको फ्री हेडर चितवनका गोलरक्षक अमाई नाइटले दर्शनीय ढङ्गले विफल पारे।

दोस्रो हाफमा चितवनले आक्रामक खेले पनि झापाका गोलरक्षक अन्जलका कारण गोल थप्न सकेन। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा झापाका विदेशी खेलाडी अर्सिक लाजारले फ्रिकिकमा प्रहार गरेको बलमा गोलपोस्ट बाधक बन्दा चितवनको तीन अङ्क पक्का देखिएको थियो तर सो घटनाको दुई मिनेटपछि गेरोले गरेको गोलले चितवन एक अङ्कमा सीमित भयो।

चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्कोमा बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो। झापाले लगातार तेस्रो खेल बराबरीमा खेलेको हो। झापाले पहिलो खेलमा बुटवलसँग र दोस्रो खेलमा काठमाडौँसँग गोलरहित बराबरी खेलेको थियो।

images
प्रकाशित मिति :चैत्र २४, २०८१ सोमवार - ०७:५२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology