Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

काभ्रेको खस्रे गुरुङ गाउँमा सामुदायिक होमस्टे संचालनमा (फोटोफिचरसहित)

काभ्रेको खस्रे गुरुङ गाउँमा सामुदायिक होमस्टे संचालनमा (फोटोफिचरसहित)

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
काभ्रेको खस्रे गुरुङ गाउँमा सामुदायिक होमस्टे संचालनमा (फोटोफिचरसहित)
images

 

काभ्रेपलाञ्चोक । गुरुङ समुदायको बसोबास भएको गाउँ मन्डन देउपुर नगरपालिका–३ काभ्रेमा सामुदायिक होमस्टे सुरु भएको छ । पर्यटकीय क्षेत्र नगरकोटको काखैमा रहेको खस्रे गुरुङ गाउँमा पर्यटनलाई थप विकास गर्न र स्थानीय सँस्कार, सँस्कृतिलाई जर्गेना गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन सामुदायिक होमस्टे सुरु गरेको हो ।

काभ्रेको पर्यटकीय क्षेत्र नगरकोट नजिकै खस्रे गुरुङ गाउँमा नगरपालिका र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन “FAO” को आर्थिक सहयोगमा फोर बेटर्स नमुना गाउँ (Four Betters Model Village)को मोडलमा सञ्चालित सामुदायिक होमस्टे पहिलो हो । स्थानीय गुरुङ समुदायको सक्रियतामा सञ्चालित सामुदायिक होमस्टेले स्थानीय रैथाने बालीको विकास हुने र गाउँमा उत्पादित अर्गानिक बस्तुले समेत बजार पाउने स्थानीयले अपेक्षा गरेको छ ।

सञ्चालक समितिले सोमबार कार्यक्रम आयोजना गरी होमस्टे औपचारिक रुपमा सञ्चालन गरेको हो । होमस्टे सञ्चालक समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख टोक बहादुर तामाङ, स्थानीय जनप्रतिनिधीहरु लगायत सहयोगी दातृनिकायका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा गुरुङ सँस्कार र साँस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागी भएका विदेशी तथा स्वदेशी पाहुनालाई रैथाने बालीबाट बनेको खानेकुरा, सिस्नोको सुप, कोदोको लोकल रक्सीले स्वागत गरेको थियो ।

खस्रे गुुरुङ सामुदायिक होमस्टेमा आउने पाहुनाहरुले दुई तरिकाबाट बस्न सकिने स्थानीय समाजसेवि एवं होम स्टे सञ्चालक समितका सदस्य रमेश गुरुङले बताए । उनका अनुसार स्थानीय उत्पादित रैथाने कषिको परिकार अर्डर गरी वा आफैले ल्याएको खानेकुरा पकाएर खाई होमस्टेमा बस्न सकिने बताए ।

होमस्टेका सञ्चालक समितिकी सदस्य विना गुरुङले राजधानी काठमाडौबाट नजिकै भएको हुदाँ सफा, स्वच्छ र रमणीय वातावरणमा घुम्नको लागि खस्रे गुरुङ गाउँमा एक चोटी भ्रमणमा आउन सबैलाई निम्तो गरेकी छन् । उनले खस्रे गुरुङ गाउँमा आएपछि स्थानीय उत्पादन र विषादीरहित, अर्गानिक परिकारहरुको स्वाद लिन सकिने बताईन् ।

यस गाउँको होमस्टेमा एकै पटक नब्बेदेखि एक सय जना पाहुना बस्न सकिने क्षमता रहेको छ । होमस्टे सञ्चालन प्रावधान ऐन अनुसार एक घरमा दुइवटा मात्र बेडको व्यवस्था हुने रहेकोले सिंगो गाउँभरिकै स्थानीयले पाँहुनालाई राख्न सकिनेछ । गाउँमा आउने पर्यटकहरुले चुलोमा पकाएको अर्गानिक खानाको स्वाद लिन सकिनेछ ।

खस्रे गुुरुङ सामुदायिक होमस्टेमै किन जाने त ?
पर्यटकीय क्षेत्र नगरकोटको काखैमा रहेको खस्रेमा चिटिक्क परेका आधुनिक जस्तामा सज्जिएको करिब ५० घरधुरि रहेको गुरूङ बस्ती आफैंमा प्राकृतिक रूपमा सुन्दर छ । राजधानी काठमाडौंबाट करिब ३४ किलोमिटरको दुरी यात्रा तय गरिसकेपछि खस्रे गुरुङ गाँउ पुग्न सकिन्छ ।

गुरूङ जातिको बाहुल्य रहेको यो गाउँबाट गौरीशंकर, जुगल लगायत अन्य हिमालहरु र चारैतिर हरियाली रमणीय प्राकृतिक सौन्र्दयको दृश्य अवलोकन गर्न पाइन्छ । सफा अनि सुन्दर खस्रे गुरुङ गाउँमा खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा, सडक बाटो सबैको सुविधा रहेको छ ।

स्थानीय गुरुङ सँस्कार र सँस्कृतिमा आधारित भेषभुषा, रहनसहनसँगै लोकल र विषादीरहित कोदो, गँहु, फापर, मकै, उँवा, भटमास, केराउ लगायतबाट बनेको अर्गानीक खानेकुरा यहाँको मुख्य आर्कषण हो । यहाँ गुन्द्रुकको अचार, साँधेको भटमास, लोकल कोदोको रक्सी, सिस्नोको सुप, रायोको साग, लोकल कुखुरा, कालिज, गाईभैसीको लोकल र ताजा दुधदही, घ्यू, मह, आलुको परिकार लगायत अर्गानिक खानाहरु पाइन्छ ।

त्यसैगरी, होमस्टेमा आउने पर्यटक तथा पाहुनाहरुलाई गुरुङ जातिको मौलिक र साँस्कृतिहरु घाँटु, सोरठी, झ्याउरे, सालैजो, झोर्रा लगायत नृत्य तथा गीतसंगित पनि मनोरञ्जनका लागि देखाइने गरिन्छ ।

फोटोफिचर 

               

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:१४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology