काठमाण्डौ, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पेसी तोकिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको उक्त मुद्दामा अब फैसलाको प्रतिक्षा छ
।पछिल्लो समय सर्वाधिक चासोका साथ हेरिएको सो मुद्दामा रिट निवेदक र विपक्षी दुवैतर्फका वकिलको बहस सकिएको छ । अदालतले यो मुद्दामा एमिकस क्युरी बोलाएकामा उनीहरुले पनि आफ्नो राय दिइसकेका छन् । दुवैतर्फका वकिलको बहस र एमिकस क्युरीको राय सकिएपछिसंवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा जाने भएको छ।संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजोसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो।संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो।संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो।