इच्छाकामना । आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ केन्द्रित अभियानमा लागेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ ।
यसैबिच नेकपा एमाले इच्छाकामनाले पनि जरा अभियान सुरु गरेको छ ।
सोमबारदेखि अभियान सुरु गरिएको नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
इच्छाकामना ४ स्थित कुरिनटारबाट एक कार्यक्रमकाबिच अभियानको सुरुवात गरिएको हो ।
नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्व तथा वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यी हुन नेकपा एमालेका तीन महिना सम्म चल्ने जरा अभियानमा हुने गतिविधिहरु
– सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य),
– टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने,
– सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग÷समुदायको नेताका रुपमा स्थापित गर्ने,
– सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने,
– सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने,
– वार्षिक कार्यक्रमलाई अगाडि बढाउने,
– एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,
– जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने,
– २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,
– पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,
– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने,
– र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।