गोरखा । भोलीबाट हरमटारी खेलकुद मैदानमा सुरु हुने ‘द अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कप’ को टाइसिट तथा खेल समय तालिका सार्वजनिक गरिएको छ । आयोजक हरमटारी क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत टाइसिट सार्वजनिक गरेको हो ।
क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार वुधवार उद्घाटन खेल द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीच दिउँसो २ बजे हुने छ ।
दोस्रो दिन दुई खेल हुने क्लबका महासचिव किरण ढकालले बताए । ‘पहिलो खेल सेनाको रिपुमर्दन गण र लक्ष्मीबजार हर्ट क्लबबीच हुनेछ’, उनले भने, ‘दोस्रो खेलमा सतिपिपल क्लब र सूर्यादय युथ फेमेली छेपेटार भिड्ने छन् ।’ उनका अनुसार तेस्रो दिन द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरीबीचको खेल मात्र हुने छ ।
फागुन १० गते समिचौर युथ क्लब गोरखा र न्यू जनसहारा युथ क्लब देउराली एवं हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिमबीचका खेलहरु हुने छन् । फागुन ११ बाट दोस्रो चरणका खेलहरु सुरु हुने आयोजकले जनाएको छ । सो दिन द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीचको बिजेता टिम चाइनिज धारा फेमेली क्लब गोरखासँग भिड्नेछ । यस्तै दोस्रो खेल रिपुमर्दन गण र लक्ष्मीबजार हर्ट क्लबका बिजेता टिम र सूर्यपुर एफसी चितवनबीच हुने आयोजकले जनाएको छ ।
फागुन १२ गते सतिपिपल क्लब र सूर्योदय युथ फेमेली छेपेटार तथा समिचौर युथ क्लब र न्यू जनसहारा युथ क्लब देउरालीबीचका बिजेता टिमहरु एक आपसमा प्रतिस्पर्धा गर्ने छन् । सोही दिनको दोस्रो खेल द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरी तथा हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिम गण्डकीबीचका बिजेता टिमहरु भिड्ने छन् ।
फागुन १३ बाट सेमिफाइनलका खेलहरु सुरु हुने छन् ।
उक्त खेलमा दोस्रो चरणका बिजेता टिमहरुबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल फागुन १४ गते दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहने छ ।
उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।
टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । खेल हेर्नका लागि प्रति व्यक्ति ५० रुपैया शुल्क लाग्ने बताइएको छ । सेमिफाइनल र फाइनल खेलका लागि भने एक सय रुपैया शुल्क तोकिएको आयोजकले जनाएको छ । खेलमा सहभागी खेलाडीहरुको तीन लाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।