काठमाण्डौ, ९ फागुन । बिभिन्न धर्मका गुरुहरुले समाजमा भएका कुरितिजन्य परम्परागत हानीकारक अभ्यास अन्त्यका लागि आफुहरु एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । कुनैपनि धर्मले गलत अभ्यासलाई प्रोत्साहन नदिने भन्दै धर्मगुरुहरुले धर्मको गलत व्याख्या हटाउन लागि आफुहरु एक भएर लाग्नुपर्ने बताएका हुन् ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब र वल्र्ड भिजन नेपालले काठमाडौमा गरेको कार्यक्रममा राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालका अध्यक्ष हर्ष थापाले समाजमा गलत परम्पराको रुपमा रहेको बालविवाह रोक्नका लागि विभिन्न धर्मका गुरुहरुलाई तालिम दिइरहेको बताउनुभयो । कुनैपनि धर्म ग्रन्थमा बालविवाह गर्नुपर्छ भन्ने उल्लेख नभएको पनि उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा हिन्दु धर्मका अगुवा विनोद शर्माले हिन्दु धर्ममा वालविवाह गर्न नहुने बताउदै विवाह गर्ने, गराउने उत्तम उमेर २५ वर्ष रहेको बताउनुभयो । यस्तै बौद्ध धर्मका गुरु आनन्द भिक्षुले समाजमा बालविवाह हटाइ बालबालिकालाइ उचित शिक्षा दीक्षा दिनुपर्ने र गलत अभ्यास हटाउनको लागि धार्मिक अगुवाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । बालविवाह हटाउन अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका हुने पनि उहाँले बताउनुभयो । मुस्लिम धर्मका अगुवा इफ्रान पोखरेलले हानीकारक गलत परम्पराहरुलाइ हटाउदै लैजानुपर्ने र त्यसको लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।
किरात धर्मका अगुवा तिर्थ राइले हाल नेपालमा सानैमा भागेर विवाह गर्ने चलन बढेकाले उनीहरुलाइ परिवार र विद्यालयको तर्फबाट सचेत गराउने काम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागी बालबालिकाहरुले बालविवाहका बारेमा विभिन्न धर्म अनुरुप समाजमा भएका गलत अभ्यासका बारेमा जिज्ञासा पनि राखेका थिए । अकोराबले बालविवाह, जातीय भेदभाव, दाइजो, छाउपडी लगाएत परम्परागत हानीकारक अभ्यासहरुका बिरुद्धमा सञ्चार अभियान चलाइरहेको छ ।