Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका रवीन गुरूङ कायाक ‘च्याम्पियन’ बने

तनहुँका रवीन गुरूङ कायाक ‘च्याम्पियन’ बने

इच्छाकामना न्युज

१९, माघ २०८१
तनहुँका रवीन गुरूङ कायाक ‘च्याम्पियन’ बने
images

नवलपुर (नवलपरासी), माघ १८ । त्रिशूली र नारायणी नदीमा आयोजना गरिएको ३५ किलोमिटर राष्ट्रिय कायाक प्रतियोगितामा तनहुँका रवीन गुरूङ विजेता बनेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्मको दूरी दुई घण्टा २८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै रवीन विजेता बनेका हुन् ।

images
images
गण्डकी प्रदेश खेलकुद विकास समितिले आज आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिताको विजेता बनेका उनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता तनहुँका प्रमोद गुरूङ भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
देशभरका ११ जिल्लाका २५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा उदयपुरका कृष्ण खड्काले दुई घण्टा ३० मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।

धनकुटाका विजय माझीले दुई घण्टा ३० मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्दै रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निर्धारित दूरी दुई घण्टा ३३ मिनेट पाँच सकेण्डमा पार गर्दै गोरखाका सुरेन्द्र चेपाङ सान्त्वना भएका छन् । उनलाई नगद रू तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरूलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा समितिका सदस्य सचिव शर्माले नेपालमा खेलाडीहरू खेलेरै जीवनयापन गर्ने अवस्थामा आइसकेको बताउनुभयो । राज्यबाट खेलकुदमा लगानी कम भइरहेको सन्दर्भमा निजी क्षेत्रले खेलकुद क्षेत्रलाई अगाडि बढाउन लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक पाउने खेलाडीलाई सम्मानित गर्ने किसिमले कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

“प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई समेटेर विभिन्न आठवटा विधामा मेडल दिनेगरी कार्यविधि ल्याएको छ”, शर्माले भन्नुभयो, “अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी, खेलकुदको क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम, खेलकुदको विकासमा काम गर्ने व्यक्ति तथा संस्था, रेफ्री, कोचसहित पर्नेगरी आठ वटा विधाबाट वार्षिक रूपमा मेडल प्रदान गर्दैछ ।” खेल क्षेत्रलाई योगदान पुग्नेगरी प्रदेशले मुलुकमा पहिलोपटक कार्यविधि ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा पारिश्रमिक दिन सुरु गरिएको भन्दै सदस्य सचिवले यहाँ रहेका नौ जना ओलम्पिक खेलाडीलाई गतवर्षदेखि मासिक रूपमा रु पाँच हजार भत्ता दिइएको उल्लेख गर्नुभयो । गण्डकी जल सम्पदामा धनी रहेको भन्दै उहाँले पानीमा खेलिने साहसिक खेलकुद गर्दै जल पर्यटनको प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।

“जल पर्यटनमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खेलकुद क्षेत्रलाई जोड्न सकिन्छ”, उहाँले भन्नुभयो, “धार्मिक पर्यटक र साहसिक पर्यटकलाई जोडेर लैजान सकेमा प्रदेशवासीको आयआर्जनमा वृद्धि हुनेछ ।” नारायणी नदीमा ड्रागन मोटर रेस गर्न सकिने सम्भावना भएको बताउँदै उहाँले यसको तयारी गरेमा जल पर्यटन प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश खेलकुद विकास समितिका सदस्य एवं राष्ट्रिय कायाक प्रतियोगिताका संयोजक वसन्तराज दवाडीले विगत चार वर्षदेखि जलयात्रा र साहसिक खेलकुदका गतिविधि गर्दै आएको बताउनुभयो । साहसिक खेलको प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको भन्दै उहाँले आगामी वर्षमा यस प्रतियोगितालाई अझै बृहत् तरिकाले आयोजना गरिने जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले नवलपुर खेलकुदका लागि उर्वर भूमि भए पनि यहाँ अभ्यासका लागि पर्याप्त पूर्वाधार नभएको बताउनुभयो । उहाँले यस क्षेत्रमा आवश्यकता अनुसार खेलकुदका पूर्वाधार निर्माण गरी राष्ट्रिय, अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो ।रासस

images
प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - ०७:५०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology