Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

images

इच्छाकामना न्युज

१९, माघ २०८१
बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु
images

भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा माघ २२ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी २२ गतेदेखि सबै प्रादेशिक अस्पताल बिहान ८ बजेदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।

माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालनसँगै प्रादेशिक अस्पतालको सेवा विस्तार गर्न थालिएको उहाँले बताउनुभयो । थापाले सङ्घीय सरकारले देशैभरि १६ लाख किशोरी एचपिभी खोप लगाउन सुरु गरेकाले उक्त अभियान सफल पार्न सबैलाई आह्वान गर्नुभयो । उहाँले प्रदेशभित्रका कम्तीमा एक सय शय्याका प्रादेशिक अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्न पाउने नीति प्रदेश सरकारले पारित गरेको जानकारी दिनुभयो ।

सरकारले प्रदेशसभामा पेस गरेको स्वास्थ्य ऐन पारित भएसँगै नर्सिङ कलेज सञ्चालनसम्बन्धी नीति कार्यान्वयनमा आएको बताउँदै मन्त्री थापाले तीन सय शय्याको भक्तपुर अस्पतालले आगामी शैक्षिकसत्रदेखि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका सबै जिल्ला अस्पतालमा सेवा विस्तार गर्ने योजनाहनुसार सेवा बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन हुनेछ । योसँगै बिरामीलाई सहज हुने भएकाले सोहीअनुसार सेवा लिन आउन सबैलाई अनुरोध गर्दछु ।”

मन्त्री थापाका अनुसार प्रदेशद्वारा पारित स्वास्थ्य ऐनमा प्रदेशभित्रका निजी तथा सरकारीमध्ये ५० शय्यासम्मका अस्पतालले वर्षमा एकपटक र सोभन्दामाथिका अस्पतालले वर्षमा दुईपटक अनिवार्यरूपमा दुर्गम गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । दुर्गमका नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र रोग पहिचान गरी उपचार पहुँच बढाउन उक्त व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक जिल्लाका अस्पतालहरूको अनुगमन मन्त्रालयले गरिरहेको छ । दुर्गम क्षेत्रका नागरिकको अवस्था बुझेर आवश्यक विशेषज्ञ जनशक्ति, प्राविधिक, उपकरणलगायत सामग्री पठाउँदै आएका छौँ । दुर्गममा स्वास्थ्य शिविर अभियान सुरु गरेर पालिकाहरूमा अभियान लिएर पुग्ने योजना बनाएका छौँ ।” बागमतीका स्वास्थ्यमन्त्री थापाले प्रदेशभित्र राजमार्ग केन्द्रित गरेर दुईवटा ट्रमा सेन्टर निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गमा सवारी दुर्घटनामा परेकालाई तत्काल उपचार गरी मृत्युबाट जोगाउने लक्ष्यका साथ अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीस्थित सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्नेगरी योजना सार्वजनिक गर्ने उहाँको भनाइ छ । राजमार्ग लक्षित गर्दै धादिङमा ट्रमा सेन्टर बनाउने तयारी भइरहेको मन्त्री थापाले बताउनुभयो ।रासस

images
प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - ०७:३९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology