आँबुखैरेनी, १० माघ । आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
रामशाह माध्यमिक विद्यालयको प्राङ्गणम एक कार्यक्रमकाबीच संविधान सभा सदस्य एवं पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा कोईरालाले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा खेलकुदका विभिन्न विधाहरू सञ्चालन गरिएको थियो ।
जस मध्ये ३००० मि. रेस, २०० मि. रेस, लङ जम्प, ट्रिपल जम्प, शटपुट, र भलिबल छात्र क्वाटर फाइलन खेल प्रमुख आकर्षण बनेको थियो । प्रतिस्पर्धामा विद्यालयका विभिन्न उमेर समूहका छात्र÷छात्राहरूले आफ्नो खेलकुद क्षमता प्रदर्शन गरेका थिए ।
संविधान सभा सदस्य एवं पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा कोईरालाले यस प्रतियोगिताले विद्यालय र गाउँका युवाहरुलाई खेलकुदको क्षेत्रमा उत्साहित गर्दै उनीहरूको शारीरिक क्षमता र मानसिक दृढता पनि विकास गर्न मद्दत पुर्याएको बताउनुभएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले प्रतियोगिताले खेलकुदमा युवाहरूको सहभागिता बढाउने मात्र नभई सामाजिक एकता र समन्वयको भावनालाई पनि प्रबल बनाएको विश्वास व्यक्त गर्नुभएको छ ।