Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

देवघाटको धार्मिक पर्यटन ओझेलमा

देवघाटको धार्मिक पर्यटन ओझेलमा

देवघाटको धार्मिक पर्यटन ओझेलमा
images

देवघाट, माघ २ गते । धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना भएर पनि संरक्षणसम्बन्धी नीतिगत योजना र प्रचारप्रसारको अभावमा देवघाट क्षेत्र ओझेलमा छ ।

images
images

गलेश्वर आश्रमका पूर्वव्यवस्थापक महेन्द्र प्याकुरेल माघेसङ्क्रान्तिसँग देवघाटको सम्बन्ध भए पनि धार्मिक पर्यटनको विकास हुन नसकेको स्विकार्नुहुन्छ । “माघेसङ्क्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक सम्बन्ध छ । यस दिन स्नानकै लागि आउने भक्तजनको सङ्ख्या बर्सेनि उल्लेखनीय छ ।

अन्य दिन भने यहाँको खासै वास्ता भएको देखिँदैन,” उहाँको गुनासो छ । प्रचार प्रसारसँगै संरक्षणसम्बन्धी नीतिगत योजना मूर्त रूपमा अगाडि बढ्न नसक्दा नै अहिलेको समस्या भएको उहाँको भनाइ छ । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ पछिल्लो समय देवघाटको धार्मिक मौलिकता हराउँदै जाँदा पनि यसले प्रत्यक्ष धार्मिक पर्यटनमा असर गरेको बताउनुहुन्छ ।

“पहिले देवघाट आउने भक्तजन टाँडी पौवामा बस्थे र भजनकीर्तन गर्थे तर अहिले त्यो सबै हरायो,” उहाँले थप्नुभयो, “मौलिकता हराउँदा पनि पर्यटकको आकर्षण घट्दै गएको हो ।” देवघाटमा रहेका मठमन्दिरले आआफ्नै ढङ्गले धर्मशाला सञ्चालन गरे पनि सरकारका तर्फबाट कुनै धर्मशाला नहुँदा पनि समस्या भएको छ ।

भएका धर्मशालामा पनि समयसापेक्ष सुधार हुन पनि उहाँको सुझाव छ । देवघाटमा पर्यटन आकर्षणका लागि आवश्यक पूर्वाधारको विकास गर्न नसक्दा यो समस्या भएको हो । पहिला चितवनको आँपटारीबाट मात्रै देवघाट जान सकिने भए पनि अहिले ठिमुरा, दासढुङ्गा र गैँडाकोटबाट देवघाट जान मोटर जाने पुल बनेका छन् ।

यसको समुचित विकास हुन सकेको छैन । देवघाटमा पर्यटक आकर्षणका लागि चितवन, नवलपरासी र तनहुँ जोड्ने झलुङ्गे पुल बनाउने योजना त्यसै अलपत्र परेका कारण पर्यटक आकर्षण गर्न नसकिएको बताइन्छ । नेपालमा पशुपति, मुक्तिनाथ र जानकी मन्दिरमा जस्तै देवघाटमा पनि धार्मिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको बताउँदै पर्यटनविद् डा. विश्व सुवेदी देवघाटलाई हरिहर मार्गसँग जोड्नुपर्ने तर्क अघि सार्नुहुन्छ ।

“देवघाटको धार्मिक पर्यटनको सम्भावना बोकेर पनि यसको समुचित विकास गराउन सकिएको छैन । भारत र नेपालका हिन्दुलक्षित देवघाटलाई सांस्कृतिक कालीगण्डकी कोरिडोर हरिहर मार्गका रूपमा देवघाट हुँदै त्रिवेणीसम्म लैजाने योजना अगाडि बढाउनु पछर्,” उहाँले भन्नुभयो । त्रिवेणीमा रहेको मोक्षधाम र वाल्मीकि आश्रमलाई हरिहर मार्गले समेटेर नदीमा आधारित पर्यटनको विकास गर्न सकिने सम्भावना उहाँले देखाउनुभयो ।

“देवघाट सीता पातालमा विलय भएको ठाउँ हो । यसलाई रामायण परिपथसँग पनि जोड्न सकिन्छ । अहिले खासै चर्चामा नआएको यो कुरालाई प्रचारप्रसार गरेर भारतको अयोध्यामा आउने भक्तजनलाई देवघाट भित्र्याउनेतर्फ अब सोच्नपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो । देवघाट शालिग्रामको थलो पनि हो । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञसमेत रहेका डा. सुवेदीले बिस्तारै शालिग्राम सकिँदै जाँदा यसको महत्वबारे पछिल्ला पुस्तालाई जानकारी दिन देवघाटमा शालिग्राम सङ्ग्रहालय आवश्यक रहेको बताउनुभयो ।

देवघाटबारे जानकारी दिने अहिलेसम्म एउटा सूचना केन्द्र छैन । पशुपति, मुक्तिनाथ र जानकी मन्दिर जाने पर्यटकलाई बिचमा पर्ने देवघाटमा छिराउने प्याकेज दिने घोषणा गर्ने भनिएको बर्सौं भयो तर पनि यसको कार्यान्वयन हुन सकेको छैन । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सुवेदी पशुपतिदेखि जनकपुर पुग्ने धार्मिक पर्यटकलाई देवघाट छिराउने योजना बनाउनुपर्ने तर्क गर्नुहुन्छ । दामोदर कुण्डबाट आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालीगण्डकी नदीको सङ्गम भएका कारण पनि देवघाटको वेणी धार्मिक रूपमा महत्वपूर्ण छ ।

सूर्य मकर राशिमा गई उत्तरायण हुने माघेसङ्क्रान्तिका दिन देवघाटमा आएर वेणीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने विश्वासले नै सर्वसाधारण यो दिन यहाँ स्नान गर्न आउँछन् । देवघाटमा रहेका मठमन्दिर तथा पुरातात्त्विक वस्तुहरू पनि आकर्षणका केन्द्र हुन् । सीता भासिएको गुफा, दिनदिनै शिला बढ्ने विश्वास गरिएको मणिमुकुन्द सेन चक्रवर्ती महादेव मन्दिर र योसँगै रहेको पुष्पवाटिकाले जोकोही आउने पर्यटकको मन तान्न सफल हुन्छ ।

यस्तै विभिन्न पीठहरूले सञ्चालन गरेका गुरुकुलहरू संस्कृत विद्या आर्जन गर्ने थलो बनेका छन् । विज्ञ सुवेदी यसलाई पर्यटनसँग ‘ब्रान्डिङ’ गर्न सके मात्रै पनि देवघाटको धार्मिक पर्यटनको विकास हुने देख्नुहुन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल देवघाटको विकासका लागि योजना आवश्यक देख्नुहुन्छ ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०८:०७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology