ताङिलचोक, ५ फागुन । गण्डकी गाउँपालिका वडा नम्बर २ ताङ्लिचोकमा रहेको पशु र कृषि सेवा केन्द्रको भबन प्रयोग नभई थोत्रिएको छ। भुकम्पपछि दातृ संस्थाले निर्माण गरेको प्रिफ््याब भबन एक दिन पनि खुलेको छैन्। कार्यालय नखुल्ने र सेवाग्राही नआउने भबनमा एनजिओ र आइएनजिओले खुट्टाको सहायताले हात धुने प्रविधि पनि जोडिदिएका छन्।
‘यो कार्यालय खुल्दैन, हामी कृषिको सेवा लिन वडा कार्यालय र पशुको सेवा लिन कर्मचारी घुम्दै आएको बेला भन्नुपर्छ’–स्थानीय भिमप्रसाद अर्यालले भने, ‘अहिले कार्यालय कर्मचारीको झोलामा छ, हामीले सेवा लिन कर्मचारी खोज्दै हिँड्नुपर्छ। कार्यालय कहिल्यै खुल्दैन।’
प्रिफ्याबका दुईवटा भबन छन्। चर्पी, पानी ट्याङ्की सबै दुई÷दुई वटा छन्। भबनभित्र फर्निचर पनि छ तर अहिलेसम्म प्रयोगमा आएको छैन। २०४२ सालमा त्यहाँ पशु र कृषिको केन्द्र स्थापना भएको थियो। गोरखा क्षेत्र नम्बर १ को तल्लो भेगका मानिसले त्यहाँबाट कृषि र पशु सेवा पाउँथे। १३ रोपनी जग्गा कृषिको नाममा छ। अन्य १२ रोपनी सहित २५ रोपनी जग्गामा पहिले सेवाकेन्द्र थियो। द्वन्द्वकालमा उक्त केन्द्र ध्वस्त भएपछि बिस्थापित भयो।
‘हामीले पटक–पटक सेवा केन्द्र राखिदिन गाउँपालिकालाई पनि भन्यौँ’–स्थानीय शिक्षक मदन पन्तले भने, ‘पशु पालन र कृषिको सम्भावना रहेको यस क्षेत्रमा सेवा केन्द्रको भबन मात्रै छ। सेवा नहुँदा किसान खुसी छैनन्।’ ताङ्लिचोक र आसपासको ठाउँ सुन्तला खेती, पशुपालनका लागि राम्रो मानिन्छ। त्यहाँ सेवा केन्द्र हुँदा किसानलाई ठुलो राहत मिल्ने शिक्षक पन्तले बताए। ‘लाखौँ खर्च गरेर बनाएको सेवा केन्द्र भबन प्रयोग बिहिन भएर थोत्रिएको छ’ –उनले भने ‘यसलाई प्रयोग नगर्ने भए निर्माण गर्नु हुँदैनथ्यो, राज्यको लगानी बालुवामा पानी भयो।’
वडा अध्यक्ष देउबहादुर गुरुङले उक्त भबन आफु निर्वाचित भएर आउनु अघि बनेको बताउँदै भने ‘कसले बनाईदिए थाहा भएन, तर त्यहाँ वडा समितिको बैठक, कृषिको प्राविधिक बस्ने निर्णय हामीले गरेका छौँ, तर बस्न सुरु भईसकेको छैन।’ अहिले वडाबाटै काम गरिरहेको उनले बताए। बत्ती, पानी, सडक सबै सुविधा पुगेको उक्त ठाउँमा भबन निर्माण भएर प्रयोगहिन बनेको हो।
गाउँपालिका अध्यक्ष होमबहादुर रानाले उक्त भबन छिट्टै नियमित प्रयोगमा आउने बताए। ‘त्यस क्षेत्रका जनतालाई कृषि, पशुको सेवा दिने गरी इकाईको रुपमा बिकास गर्ने योजना छ’ –उनले भने।
दरौदी दैनिबाट