Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाइने

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाइने

पत्रपत्रिका

१८, पौष २०८१
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाइने
images

काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

images
images

काठमाडौं प्रहरी परिसरले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको बताए। ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन समय अपुग भयो, बिहीबार बुझाउनेछौं,’ एसपी अधिकारीले भने।

उनका अनुसार अनुसन्धान प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ। ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसमेत रहेको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियमविपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।

परिसरका प्रवक्ता एसपी अधिकारीका अनुसार स्वर्णलक्ष्मीबाट देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एन्ड एक्सपिडिसन, गोर्खा हर्बल प्रोडक्सन, कुमकुम हर्बल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस्, भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ऋण प्रवाह भएको पाइएको छ।

गत कात्तिक २१ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको लेखा समिति सदस्य सुनिता नेवा र २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए। उक्त सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्वडिआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल, नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको छ। लामा जिबीका साढुभाइ हुन्।

स्वर्णलक्ष्मी सहकारीका सञ्चालकले सर्वसाधारणको निक्षेप हिनामिना गरेको भन्दै २०८१ वैशाख १६ मा बचतकर्ताले प्रहरीमा जाहेरी दर्ता गराएका थिए। उक्त सहकारीले दुई वर्षदेखि बचत रकम फिर्ता नगरेपछि बचतकर्ताले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दर्ता गराएका थिए। बचत रकम फिर्ता नगरी सञ्चालकहरू फरार भएको भन्दै बचतकर्ताले आन्दोलनसमेत गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - ०८:५९:०८ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology