Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा स्नातकोत्तर गर्ने चेपाङ समुदायकै पहिलो मकैसिङकी रमिला चेपाङ 

गोरखामा स्नातकोत्तर गर्ने चेपाङ समुदायकै पहिलो मकैसिङकी रमिला चेपाङ 

गोरखामा स्नातकोत्तर गर्ने चेपाङ समुदायकै पहिलो मकैसिङकी रमिला चेपाङ 
images

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये एक हो चेपाङ । जो नेपालमा आदिवासी जनजातिमा पनि अल्पसङ्ख्यक समुदायभित्र पर्छ । आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै विकासका सूचकबाट निकै पछि भएको समुदाय हो । अहिले पनि यो समुदायको साक्षरता प्रतिशत जम्मा ३६ प्रतिशत मात्रै छ । त्यसमाथि महिलाको साक्षरता प्रतिशत झन् न्युन छ । 

images
images

आर्थिक अवस्था न्युन, सामाजिक चेतनाको कमिका कारण सानैमा बिहेवारी गर्ने सामाजिक परम्पराजस्ता विविध कारण पछि परेको यो समुदायमा पछिल्लो समय भने शिक्षाको महत्व बुझ्दै गएको देखिन्छ । जसका कारण उच्च शिक्षा अध्ययन गर्ने युवायुवती पनि देखिन थालेका छन् । यसैको उदाहरणको रुपमा लिन सकिन्छ, गोरखा गण्डकी गाउँपालिका १ मकैसिङ निवासी रमिला चेपाङलाई । 

वि.सं. २०४८ कार्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका ६ धादिङमा बुबा लालबहादुर चेपाङ र आमा धनमाया चेपाङबाट जन्मिएकी रमिला वि.सं. २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका १ को मकैसिङ निवासी विलबहादुर चेपाङसँग विवाह गरी आइन् । बुबाआमा सामान्य किसान भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने चेतना भएकै कारण रमिलाले अध्ययन गर्ने वातावरण बन्यो । फलस्वरुप यतिबेला उनले स्नातकोत्तर तह (एमएड) उर्तीण गरी गण्डकी गाउँपालिकामा चेपाङ समुदायबाटै यति धेरै अध्ययन गर्ने पहिलो व्यक्ति बन्न पुगेकी छिन् । 

पढ्नमा मिहनेती उनले गाउँकै कालिका माध्यमिक विद्यालयबाट आधारभूत तह ८ कक्षा उर्तीण गरी विशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कक्षा १२ कक्षासम्मको अध्ययन सकिन् । सोही स्थानमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातक तह उर्तीण गरिन् । यसपछि चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसबाट हालै स्नातकोत्तर सकाएकी छिन् । 

गण्डकी गाउँपालिका १ मकैसिङस्थित विजया भवानी माध्यमिक विद्यालयमा २०७७ सालदेखि निजी शिक्षकको रुपमा अध्यापन गराउँदै आएकी उनले २०७६ सालदेखि शिक्षण पेशा अङ्गाल्दै आइरहेकी छिन् । वि.सं. २०७४ सालदेखि २०७६ सालसम्म नेपाल सरकार गरिबी निवारण कोषमा सामाजिक परिचालकको रुपमा काम गरेकी उनले नेपाल सरकारको पाठ्य विकास केन्द्रद्वारा प्रकाशित चेपाङ भाषा पाठ्यक्रम निर्माणमा समेत संलग्न भएर काम गरेकी थिइन् । 

उनको यो शैक्षिक सफलता यतिबेला गण्डकी गाउँपालिकाको चेपाङ समुदायको लागि गर्विलो इतिहास बन्न पुगेको छ । यसले गण्डकी गाउँपालिकाको सिङ्गो चेपाङ समुदायको सफलतामा प्रतिनिधित्व हुने र चेपाङ समुदायको अन्य व्यक्तित्वहरुलाई समेत उच्च शिक्षा अध्ययनका लागि हौसला मिल्ने अपेक्षासहित गाउँको खबर विश्वभर पु¥याउने अभियानका साथ सञ्चालित इच्छाकामना न्युज डटकमले संस्थाको सातौँ वार्षिकोत्सवको अवसरमा रमिला चेपाङलाई ‘इच्छाकामना न्युज सम्मान–२०८१’ द्वारा सम्मान गर्न पाउँदा हामीलाई पनि गर्व महसुस भएको छ ।

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०९:०२:५२ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology