दिपेन्द्र अधिकारी चितवनको पत्रकारिता क्षेत्रमा करिब दुई दशकयताको सक्रिय अनि परिचित नाम हो । उनी चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ कमेरे (साविकको दारेचोक गाविस वडा नं.७) गाउँमा वि.सं. २०४४ साल माघमा बुबा नारायणप्रसाद अधिकारी र आमा सीता अधिकारीबाट जन्मिएका हुन् ।
गाउँकै प्राथमिक विद्यालयबाट आधारभूत शिक्षा हासिल गरेका अधिकारीले गोरखा र भरतपुरबाट माध्यमिक तहका शिक्षा हासिल गरे । वि.सं. २०६१ सालमा एसएलसी उत्तीर्ण गरेका उनले प्लस टुमा मूल विषय नै पत्रकारिता र अङ्ग्रेजी रोजे । कक्षा १२ को नतिजा पर्खाइमै रहेको अवस्थामा विस २०६३ सालमा ‘अभिमतपत्र’मार्फत पत्रकारिता क्षेत्रमा औपचारिक प्रवेश गरे ।
२०६४ भदौबाट मोफसलकै लोकप्रिय दैनिक पत्रिका चितवन पोष्टमा कनिष्ठ सम्वाददाताको रूपमा भित्रिएका अधिकारी हालसम्म सोही पत्रिकामा कार्यरत छन् । करिब १७ वर्ष सोही सञ्चारगृहमा समय बिताउँदै गर्दा हाल उनी समाचार शाखा प्रमुखको जिम्मेवारीमा छन् ।
अभियान दैनिक, कारोबार दैनिक, नयाँ पत्रिका दैनिकलगायतका सञ्चारगृह उनले काम गरेका केन्द्रीय सञ्चारमाध्यम हुन् । पत्रकारिता क्षेत्रको प्रवेशदेखि नै उनी छापा पत्रकारितामा निरन्तर सक्रिय भए ।
पत्रकारिता विषयमा आरआएर क्याम्पस काठमाडौंबाट स्नातकोत्तर गरेपछि आफैँले अध्ययन गरेको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा पत्रकारिता विषयको अध्यापनसमेत थाले । वि.सं. २०७२ सालदेखि सप्तगण्डकी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत छन् ।
पत्रकारिता र समाजशास्त्र विषयमा स्नातकोत्तर सकेका उनले कानुन विषयमा पनि स्नातक गरिसकेका छन् । मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा समेत चितवन प्रतिनिधिको रुपमा विगत १० वर्षदेखि कार्यरत छन् ।
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ चितवनमा सचिवको भूमिका निर्वाह गरिसकेका अधिकारी हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत भएका छन् ।
यसरी इच्छाकामनाको भूमिपुत्र रही झण्डै २ दशकदेखि चितवनको छापा पत्रकारितामा जमेका पत्रकार दिपेन्द्र अधिकारीलाई इच्छाकामना न्युज डटकमले संस्थाको सातौं वार्षिकोत्सवको अवसरमा ‘इच्छाकामना न्युज सम्मान–२०८१’ बाट सम्मान गर्न पाउँदा हामीलाई पनि गर्व महसुस भएको छ ।