काठमाण्डौ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ। २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले बितेका तीन वर्षमा सरकारले प्राप्त गर्नुभएका उपलब्धिबारे जानकारी दिने बताइएको छ । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ । पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि वैशाख १७ र २७ का निर्वाचनको मिति समेत तोकिसकेको छ ।
आजको पत्रकार सम्मेलन अघि १० बजे प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ। सिंहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको छ। भूकम्पले क्षति गर्नुअघि प्रधानमन्त्री कार्यालय सोही भवनमा रहेको थियो। भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रैको अन्य भवनमा सरेको थियो। आज उद्घाटनपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारबाट सञ्चालनमा आउनेछ।