Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँधीमूललाई थुनेर ताल बनाइँदै

आँधीमूललाई थुनेर ताल बनाइँदै

इच्छाकामना न्युज

१८, मंसिर २०८१
आँधीमूललाई थुनेर ताल बनाइँदै
images

तनहुँ, मङ्सिर १८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बाँध बाँधेर ताल बनाउने काम सुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले कृत्रिम ताल बनाउन सुरु गरेको हो । चालु आर्थिक वर्षमा ४० लाख रुपियाँ बजेट विनियोजन गरी ताल निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ताल निर्माण सुरु गरेका हौँ ।” 

images
images

अध्यक्ष चुमानका अनुसार चालु आवको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माण तथा तालको पानीबाट बिजुली निकाल्ने योजना रहेको छ । यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेकाले ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धि हुने विश्वास गाउँपालिकाले लिएको छ । 

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ भौतिक पूर्वाधारको थप, पहुँचमार्गको निर्माणलगायतले धार्मिक पर्यटक बढ्दै गइरहेको र ताल निर्माणपछि थप आकर्षण बढ्ने बताउनुभयो । थापाका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीका माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने प्रचलन रहेको छ । माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्टि गर्छन् । 

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल वाराहीको पूजा गरिँदै आएकोमा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाँग्ने कार्य चलिआएको छ । 

जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीय स्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि टाढा टाढाबाट आउने गरेका छन् । प्यागोडा शैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका धारालगायतका संरचनाले यहाँको सुन्दरतामा पर्यटक आकर्षित हुने गरेको अध्यक्ष थापाले बताउनुभयो ।   

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - २२:०५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology