आँबुखैरेनी । कतिपय पालिकाहरुको नयाँ आर्थिक बर्ष लागेदेखि एकपटक पनि कार्यपालिकाका बैठक बस्न हुन सकेको छैन, छिमेकी आँबुखैरेनी गाउँपालिकाले भने धमाधम योजना सम्झौता गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय योजना सम्पन्न गरेर अन्तिम भुक्तानी समेत दिइसकेको छ ।
अघिल्लो बर्ष सतप्रतिशत कार्यप्रगति गर्न सफल आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिकबर्षको एक तिहाइ अवधि नबित्दै एक तिहाई योजना सम्झौता गरिसकेको जनाएको छ । चालु बर्ष बिनियोजित १५४ योजना तथा कार्यक्रममध्य हालसम्म ५१ वटा योजनाको उपभोक्ता समिति दर्ता भएका र ३५ वटा योजना सम्झौता गरिसकेको योजना तथा अनुगमन शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।
‘वडा नं. १ को एउटा र वडा नं. ५ को एउटा योजना त सम्पन्न भएर अन्तिम भुक्तानी पनि लगिसके’, पौडेलले भने, ‘अरु धेरै योजना तथा कार्यक्रमहरु पनि कार्यान्वयन चरणमा गइसकेका छन् । कुनैले पेश्की लगिसकेका छन् ।’ यस बर्ष पनि बजेट फ्रिज हुन नदिने लक्ष्यका साथ काम भइरहेको उनले बताए । पालिकाभित्रको सबैभन्दा ठूलो आँबुखैरेनीबजार क्षेत्र रहेको वडा नं. ३ मा विनियोजित १८ वटा योजनामध्य १२ वटा सम्झौता भइसकेको वडाअध्यक्ष दिनेश केशी बताउँछन् ।
‘बाँकी ६ वटा योजना पनि भोलि र पर्सिभित्रमा सम्झौता हुँदैछ’, उनले भने, ‘तीनवटा योजना त कार्यान्वयन चरणमा गइसक्यो ।’ अघिल्लो आर्थिक बर्ष पनि यस वडाको कुनैपनि योजना फ्रिज नभएको उनले बताए । आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ६२ करोडको योजना तथा कार्यक्रम तर्जुमा गरेको छ । क्रमागत योजनाहरुको काम पनि धमाधम सञ्चालन भइरहेका छन् । पहिलो किस्ता भुक्तानी लगिसकेका उनले बताए ।
अघिल्लो बर्ष सतप्रतिशत नै प्रगति गरेको र यो बर्ष पनि सतप्रतिशत नै प्रगति गर्ने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । ‘गतबर्ष पनि हामीले सतप्रतिशत नै प्रगति गरेका हौँ । अपेक्षा गरेजति राजस्व संकलन नभएकाले भुक्तानी दिन नसकेर केही बाँकी थियो । त्यो पनि चालुबर्ष भुक्तानी दिइसक्यौँ’, उनले भने, ‘यसबर्ष पनि द्रुत गतिमा योजना सम्झौता भइरहेका छन् ।
कतिपय योजनाको काम धमाधम सुरु भएका छन् । कतिपय योजना सम्पन्न भएर भुक्तानी नै लगिसकेका छन् । यस आर्थिक बर्ष पनि कुनै पनि शीर्षकको योजना र कार्यक्रमको बजेट फ्रिज हुन दिँदैनौँ । सतप्रतिशत प्रगति गर्ने हाम्रो लक्ष्य छ ।’ आँबुखैरेनी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।