काठमाडौं : बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले समुदायले वन संरक्षण नगरेको भए नेपालले ‘वन थियो रे’ भन्ने एकादेशको कथा सुन्ने अवस्था आउने बताएका छन् ।
ग्रीन फाउण्डेशन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘दिगो वन व्यवस्थापन राष्ट्रिय मापदण्ड र कृषि वन उद्यमको विकासका मोडलहरू विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री सिलवालले यस्तो बताएका हुन् ।
सिलवालले सामुदायिक वनको महत्त्वलाई उजागर गर्दै भने, “सामुदायिक वनको कारण ‘हरियो वन, नेपालको धन’ भन्ने उक्ति प्रमाणित भएको छ। सामुदायिक वन भनेको गरिब र समुदायलाई सँगै जोड्ने भावना हो, जसले हामीलाई वनको अस्तित्व संरक्षण गरेको छ”, उनले थपे, “सामुदायिक वनको अभावमा नेपालीहरूले केवल ‘वन थियो रे’ भन्ने एकादेशको कथा सुन्ने अवस्था आउने थियो। वन हेर्नका लागि अर्को देश नै जानुपर्ने परिस्थिति आउन सक्थ्यो ।”

मन्त्री सिलवालले वनभित्रका स्रोतहरूको उचित व्यवस्थापन गर्दै सामुदायको हातमा वनको संचालन हुनु अनिवार्य रहेको बताए। उनले भने, “सामुदायिक वन समुदायकै लागि हो, त्यसैले यसको समृद्धि र दीगो विकासका लागि यसको संचालन पनि समुदायकै हातमा रहनुपर्छ।”
उनले नेपाललाई समृद्धिको यात्रामा वनले महत्वपूर्ण सहयोग गर्ने बताउँदै भने, “नेपालीहरूको समृद्धिको यात्रामा वनले कोसेढुंगाको भूमिका निभाउनुपर्छ। वनभित्र रहेका स्रोतहरूको उचित व्यवस्थापन गर्दै समुदायकै नियन्त्रणमा वनको संचालन हुनु आवश्यक छ।”
बागमती प्रदेश सरकार अहिले कानून सुधारका प्रयासहरूलाई सचेततापूर्वक अघि बढाइरहेको उल्लेख गर्दै मन्त्री सिलवालले भने, “वन तथा प्राकृतिक स्रोतमा आधारित करको विषयमा नीतिगत निर्णय प्रक्रिया सुरु भइसकेको छ। सामुदायिक वनमा उत्पादन भएका सामग्रीहरूबाट कति कर लिनुपर्छ र कसरी उपयोगी ढंगले व्यवस्थापन गर्न सकिन्छ, त्यसका लागि आवश्यक नीति छिट्टै तयार पारिनेछ।” उनले सहभागी वनअधिकारकर्मी, वन अभियन्ताहरूलाई आफू आवश्यक नीतिगत सुधारका लागि सदैव तयार रहेको समेत बताए।
मन्त्री कृष्ण सिलवालले विगतमा असुरो, पातपतिङ्गर, र श्याउलाजस्ता वनस्पतिहरू खेतबारीमा मलको रूपमा प्रयोग गरिने चलन रहेको, तर आज ती परम्परागत जैविक पदार्थ चिन्नेसम्म मान्छे नहुनु दुखद भएको बताए। उनले भने, “हाम्रो माटोलाई उर्वर बनाउन वनमा पाइने खिर्रा र अन्य जैविक पदार्थ निकै उपयुक्त छन्। तर हामीले बाहिरबाट आयात गरिएको युरिया मलको प्रयोग बढाउँदै गर्दा माटोको प्राकृतिक उर्वराशक्ति घटिरहेको छ, जसले हाम्रो भूमिलाई दीर्घकालमा हानी पुर्याइरहेको छ।”
उनले थपे, “आज हामीले समृद्धि खोज्दा आफ्नै माटो र स्रोतको उपयोग गर्ने भन्दापनि आयातित साधनहरूमै निर्भर हुने सोच राखिरहेका छौं, जुन दीर्घकालमा फाइदाजनक छैन। हामीले माटोको उपयोग नगरीकनै समृद्धि खोज्न थालेका छौं, जुन गलत हो । नेपाली जनता वास्तवमै गरिब छैनन्, तर केवल कागजमा धनी बन्ने प्रवृत्तिले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सक्दैन।

मन्त्री सिलवालले बाँसजस्ता वनस्पतिको उपयोग पौराणिक कालदेखि हुँदै आएको स्मरण गराउँदै भने, “चीनको एउटा प्रान्तले बाँस रोपेर त्यसैबाट कपडा उत्पादनमा ठूलो सफलता पाएको छ। हामी पनि त्यस्तै उदाहरणीय पहलमा जुट्न सक्छौं। सधैं कसैले डोनेसन दिन्छन् भनेर बसिरहनु उचित होइन। केवल तेल बेचेर मात्र होइन, वनमा आधारित उत्पादनहरूलाई प्रवर्द्धन गरेर पनि आर्थिक लाभ लिन सकिन्छ।”
सामुदायिक वनमा जडीबुटीमा रहेको अपार सम्भावनालाई दृष्टिगत गर्दै उनले थपे, “सुगरको औषधि मानिने पानीअमलाको व्यावसायिक उत्पादनबारे सोच्नुपर्ने बेला आएको छ। अहिले हामी बुकी बनाउनको लागि भारतबाट पानीअमला आयात गरिरहेका छौं, जबकि हाम्रो आफ्नै भूमिमा पानीअमला र अनेकौँ औषधीय गुण भएका जडीबुटी प्रशस्त छन्। हर्रो, बर्रो, अमला लगायतका कैयन् परम्परागत औषधीय स्रोतहरूलाई वैज्ञानिक र व्यावसायिक रूपमा विकास गर्दै आर्थिक फाइदा लिनुपर्छ, जसले हाम्रो वनलाई दीगो र आर्थिक दृष्टिकोणले सम्पन्न बनाउँछ।”
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले हरेक वर्ष महत्त्वपूर्ण सम्पत्ति डढेलोले खाने समस्याको समाधान खोज्न मन्त्रालय तत्पर रहेको बताएका छन्। “हाम्रो वन, हाम्रो सम्पत्ति हो! यसलाई दिगो रूपमा व्यवस्थापन गर्न अनिवार्य छ। यसलाई आगोको मुखमा हरेक वर्ष फ्याल्नु हुँदैन,” उनले भने।
उनले यसपटक आफूले बजेट बनाउने अवसर नपाएको कुरा गर्दै भने, “यो वर्ष म भतेरमा टपरी मात्र सार्ने भान्छेको जस्तै भएको छु! यसपटक डाडुपन्यु मेरो हातमा छैन। तर अर्को वर्ष, उद्यमकेन्द्रित नीतिहरूलाई ध्यानमा राख्दै बजेट व्यवस्था सुनिश्चित गर्नेछु ।” उनले प्रदेश सरकार वनको दिगो व्यवस्थापनका लागि प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका, जिल्ला प्रतिनिधिहरू, वनअधिकारकर्मीहरू, ग्रीन फाउन्डेशन नेपालका प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।