१२ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका मनाङे बिन्दास देखिन्छन् । ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान भएका मनाङले दुई साता बित्दासम्म न कारागार प्रशासनसँग कुनै गुनासो गरेका छन् न भेट्न आउनेसँग ।
ज्यान उद्योगमा उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले समेत गत कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका थिए । त्यसपछि उनलाई कात्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।
कारागार पुगेपछि उनले जेलर पूर्णबहादुर खत्रीलाई भेटेर ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । यसअघि पनि ‘ख’ ब्लकमै बसेका र पूर्वमन्त्री समेत रहेकाले मनाङेको अनुरोधलाई स्वीकार्दै कारागार प्रशासनले उनले भनेबमोजिम नै बस्ने व्यवस्था मिलाइदियो । ‘अक्सर भीआईपी/भीभीआईपी कैदीहरुले कारागार प्रशासनमा विभिन्न गुनासा गर्दै आफ्ना मागहरु सम्बोधन गरिदिन दबाब दिन्छन् भन्ने सुनिएको थियो ।
तर, मनाङेको हकमा अहिलेसम्म त्यस्तो देखिएको छैन । हामीले बुझेअनुसार उनी बिन्दास रुपमै कैदी जीबन बिताइरहेका छन्,’ कारागार प्रशासन स्रोतले भन्यो ।