बन्दीपुर, २६ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ५ भुजेल गाउँ नजिकै रहेको सानो आँधीमूल संरक्षणको पर्खाइमा रहेको छ। करिब तीन चार पुस्ता अघिदेखि नै यस ठाउँलाई प्राकृतिक तथा धार्मिक हिसाबले महत्वपूर्ण मान्दै आईरहेको स्थानीय नारायण लामिछानेले बताए ।
आँबुखैरेनी गाउँपालिका -१ यानचोकमा रहेको आँधीमूलकै झल्को दिने पानीको मूल रहेकोले यस ठाउँलाई व्यवस्थापन गर्न सके पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने उनी बताउँछन् । पानीको मूलमा करिब ३ मिटर काठको धारा अहिले पनि रहेको छ। नजिकै सयौं वर्षअघिदेखि का ठूलाठूला रुखहरूले झनै यहाँको सौन्दर्य बढाएको छ। करिब ४८ रोपनी क्षेत्रफल ऐलानी जग्गा भएकोले यस क्षेत्रलाई व्यवस्थापन गरी पिकनिक स्पट बनाउन सकिने अर्का स्थानीय तामप्रसाद भट्टले बताए ।
यहाँ मन्दिर, पोखरी, पाटी, भवन,लगायतका आवश्यक पूर्वाधारहरू निर्माणका लागि बजेट विनियोजन गर्न लागि गाउँपालिकालाई आग्रह गरिएको उनी बताउँछन् ।
यसैबीच यस ठाउँको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उक्त क्षेत्रको अनुगमन गरेका छन्। यस ठाउँलाई पूर्वाधारहरू तयार गरी प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन सकिने उनी बताउँछन्। अबको बजेटमा उक्त स्थानको डिपिआर समेत गरी विकास गरिने प्रतिबद्धता जनाएका छन्।
सानो आँधीमूल जानका लागि कच्ची बाटो, आवश्यक बिजुली पुगिसकेको छ। पृथ्वी राजमार्गको याम्पाफाँटबाट – थुम्का – भुजेल गाउँ हुँदै यस ठाउँमा पुग्न सकिन्छ।