Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन पर्टयनको 'इपी सेन्टर' बन्न सक्छ

चितवन पर्टयनको 'इपी सेन्टर' बन्न सक्छ

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
चितवन पर्टयनको 'इपी सेन्टर' बन्न सक्छ
images

काठमाडौँ, कार्तिक १४ — हिमाल, पहाड र तराईको मध्यविन्दु अर्थात् मेची र महाकालीको बीचमा चितवन छ ।काठमाडौंसँग चितवन नजिक छ र पर्यटकीय राजधानी भनेर निर्णय गरेको पोखरासँग पनि नजिक छ । गैंडादेखि गुँराससम्म चितवन जिल्लाको विविधता हो । पर्यटकीय दृष्टिकोणले चितवनलाई ‘इपी सेन्टर’ नै बनाएर अघि बढ्न सकिने सम्भावना देखिएको छ ।

images
images

प्रकृति र संस्कृतिको व्यापकताका लागि नागरिक उड्डयन महत्त्वपूर्ण सम्वाहक हो । यो क्षेत्रले नेपालको आकाश सुरक्षित छ भन्ने आभास दिलाउन सक्नुपर्छ । नेपालको आकाश सुचारु पनि छ, गतिशील छ भनेर भन्न सक्नुपर्छ ।

जुनसुकै बेला प्लेन, हेलिकप्टर चढ्न सक्छौं भन्ने सुनिश्चितता नगर्दा हामी पछाडि परेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा धेरै चाप छ । अन्य विमानस्थल सञ्चालनमा आउन नसक्दा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा दोब्बर यात्रुलाई आवागमन गराइरहेको छ ।

काठमाडौं विमानस्थलका चाप घटाउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल ०८३ भदौसम्म सहुलियत रूपमा सञ्चालन गर्न कार्ययोजना पास गर्‍यौं । एयरलाइन्सहरूले सहुलियत रूपमा आफ्नो सेवा सञ्चालन गरोस् भनेर फ्युलको मूल्य घटाउने, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लिने शुल्क हटाउने सुविधा ल्याएका छौं ।

एयरलाइन्सको टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को विषय टुंगिन सकेको छैन, अर्थ मन्त्रालय पुगेको छ । श्रमिकहरु सिधै जाँदा आवश्यक पर्ने अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन स्थापना गर्ने गरी कार्ययोजना पास गरिसकेका छौं । सरकारले विभिन्न सेवा सुविधा घोषणा गर्दा पनि पोखरामा नयाँ कुनै एयरलाइन्सले आवेदन दिएन । भैरहवामा दुई-तीनवटा एयरलाइन्स आउने भनेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुलाई काठमाडौंबाट बाहिर उड्ने बानी बसाउने तथा आकर्षण कसरी थप्ने भन्ने मुख्य चुनौती छ । साथै भैरहवाबाट कोही यात्रु सिमरा जाँदैछ भने ती यात्रु काठमाडौं पुगेर सिमरा जानुपर्ने अवस्था छ । त्यसकारण पनि काठमाडौंको विमानस्थलले चाप भोग्नु परेको छ । बुद्ध एयरले केही समय सञ्चालन गर्‍यो । कतिपय ठाउँमा अहिले पनि छ । श्री एयरलाइन्स पोखराबाट भरतपुर, पोखराबाट नेपालगञ्ज, पोखराबाट भैरहवा जाने किसिमको कनेक्टिभिटी स्थापित गर्नुपर्ने ठूलो चुनौती छ ।

आगामी महिना गढिमाई मेला हुँदैछ । त्यसका लागि काठमाडौंबाट मात्र नभइ अन्य स्थानबाट पनि सिमरा जान सकिने व्यवस्था गर्न त्यहाँका मेयरलगायतको टोलीले आग्रह गर्नुभएको छ । एयरलाइन्सका साथीहरुसँग छलफल गर्दा निजी र सरकारी दुवै एयरलाइन्सहरूसँग एयरक्राफ्टको कमी रहेको थाहा पाएँ । एयरलाइन्स सञ्चालकहरूले घाटामा चलिरहेको र एयरक्राफ्ट थप गर्ने किसिमको वातावरण नरहेको जानकारी दिए ।

सरकारी एयरलाइन्स कम्पनीलाई बलियो बनाउने, सेवा विस्तार गर्ने र एयरक्राफ्ट थप्ने भनेका छौं । विगतमा एयरक्राफ्ट खरिद गर्दा विवादहरु आउने भएकाले पारदर्शी व्यवस्थाबाट कसरी किन्ने व्यवस्था मिलाउने र निजी क्षेत्रका एयरलाइन्स सञ्चालकहरुलाई पनि एयरक्राफ्ट थप्न मिल्ने गरी के–कस्ता सहुलियत दिन सकिन्छ सोचेर सेवा सञ्चालन गर्नुपर्नेछ । पहाडी भूभाग भएका कारण गुणस्तरीय सडक पूर्वाधार बनाए पनि भोलिका दिनमा समय बचत गर्न हवाई यातायात नै प्रयोग गरिनेछ ।

त्यसका लागि हामीले भनेको बेला जान सक्ने, फर्किन सक्ने र अप्ठ्यारोमा पर्दा रेस्क्यु गर्न पनि हेलिकप्टर तयार छ भन्ने वातावरण बनाउनुपर्नेछ । निजी क्षेत्रलाई नियमन गर्ने विषयमा त्यस किसिमको विश्वास र प्रबन्ध मिलाउँदै लगानी गर्ने वातावरण पनि दिनुपर्छ ।

लगानी गर्न आउँदा अभियुक्त जसरी आउनु पर्ने प्रतिकूलतालाई चिरेर निजी क्षेत्रलाई लगानी सुरक्षित छ भन्ने खालको वातावरण बनाएको खण्डमा धेरै लगानी भित्रने र नागरिक उड्डयन क्षेत्रलाई सुचारु गर्न सकिनेछ । सरकारले त्यसतर्फ नीति बनाउने, कानुन बनाउने काम तत्परताका साथ गर्छ ।

माल्दिभ्सको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत पर्यटन क्षेत्रको योगदान ८० प्रतिशत छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत मात्रै छ । त्यसैले जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन निकै मिहिनेत गर्नुपर्नेछ ।

पर्यटनमन्त्री बद्री पाण्डेले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘पर्यटनको मार्ग, समृद्धिको चित्र’ विषयक छलफलमा दिएको अभिव्यक्ति)

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - २२:०७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology