Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)

मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)

इच्छाकामना न्युज

७, कार्तिक २०८१
मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)
images

मुस्ताङ, कत्तिक ७ गते । दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।

images
images

मौसम सफा भएकाले यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्ने तीर्थालु भक्तजनको सङ्ख्या बढेको हो । दैनिक रुपमा करिब ४ हजारदेखि पाँचहजारको सङ्ख्यामा धार्मिक पर्यटक मुक्तिनाथ आएको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ तिहार बिदा भएकाले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा मन्दिर दर्शन गर्न आएका छन् । देशका प्रयाजसो जिल्लाबाट भक्तजनहरु मुक्तिनाथमा पूजाआराधना र दर्शन गर्न आएका छन् । बुधबार बिहानैदेखि मुक्तिनाथ मन्दिर परिसरमा तीर्थालु भक्तजनहरुको निकै भीड लागेको छ । बिहान ७ बजेदेखि बेलुकासम्म नै भक्तजनको भीड लाग्ने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘दसैँपछिका दिनहरुमा बिहान ७  देखि साँझ ५ बजेसम्म नै भक्तजनको भीड हुन्छ । हिजो आज मौसम सफा भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।’’ मुक्तिनाथ मन्दिर परिसरमा रहेका एकसय आठ धारा र दुईवटा कुण्डमा भक्तजनले स्नान गर्दछन् ।

पहिलोपटक दाङको तुलसीपुरबाट मुक्तिनाथ मन्दिर दर्शनका लागि आउनुभएका चीरन खड्काले मुक्तिनाथ आएपछि मन प्रफुल्ल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मुक्तिनाथ पवित्र धार्मिक तिर्थस्थलका साथै प्राकृतिक सुन्दरताको खानी रहेछ ।’’

मन्दिरदेखि तल रानीपौवामा करिब ४० वटा सुविधासम्पन्न होटल छन् । धार्मिक पर्यटकका कारण धेरैजसो होटलहरु भरिभराउ भएको होटल अन्नपूर्ण इनका सञ्चालक ध्रुव सुवेदीले बताउनुभयो । मङ्सिर महिनासम्म यहाँका होटलहरु भरिभराउ नै हुने उहाँले बताउनुभयो ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ ।

प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् । मुस्ताङको जोमसोम, ठिनी, कागबेनी र माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङमा पनि पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

 

images
प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १९:१४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology