Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गर्भपतनका औषधी खुलमखुला बिक्री, अस्पताल पुग्दैनन् सेवाग्राही

गर्भपतनका औषधी खुलमखुला बिक्री, अस्पताल पुग्दैनन् सेवाग्राही

रासस

७, आश्विन २०८१
गर्भपतनका औषधी खुलमखुला बिक्री, अस्पताल पुग्दैनन् सेवाग्राही
images

पर्सा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो।

images
images

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताइन्। पर्सामा आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका मध्ये ३१ जनाले मात्रै औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन्।

यही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ जनाले ‘सर्जिकल’मार्फत गर्भपतन गराएका छन्। आव २०८०/८१ मा २० वर्षमाथिका र १२ हप्तामाथिको मेडिकल औषधिमार्फत ५३१ जनाले गर्भपतन सेवा लिएका छन् भने ९७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन्।

नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। मञ्जु रोयले पर्सामा सुरक्षित गर्भपतनसँग सम्बन्धित जानकारी नपाएर सेवाग्राही निकै न्यून मात्रामा मात्रै अस्पतालमा गर्भपतन सेवा लिन आउने बताइन्। ‘बाहिर असुरक्षित ढङ्गले गर्भपतनको औषधि सेवन गरेपछि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पताल आउने परिपाटी विकास हुँदै आइरहेको छ’, उनले भनिन्, ‘निश्चित अवधिसम्मको गर्भपतन गर्नु जोखिमयुक्त कार्य होइन। तर सूचीकृत र अनुमति नपाएका संस्थामा गएर गर्भपतन गर्दा भने स्वास्थ्य नै ठूलो जोखिममा पर्छ।’

प्रसूति रोग विशेषज्ञ रोयले पर्सा जिल्लामा भ्रुणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गलत परम्पराको विकास भइरहेकोमा चिन्ता व्यक्त गरिन्। ‘कानूनतः भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन’, उनले भनिन्, ‘अनुमतिप्राप्त नभएका दक्ष जनशक्तिले यस्तो खालको गलत अभ्यास गरिरहेका छन्। यो निकै निन्दनीय हो।’ सामान्यतया गर्भमा रहेको १४ हप्तापछि गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्न सकिने गर्छ। १० हप्तासम्मको गर्भपतन अनुमतिप्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सीमावर्ती जिल्ला भएकाले पनि गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न अप्ठेरो भएको बताए। उनले महानगरले गर्भपतनसँग सम्बन्धित जनचेतनाको कार्यक्रम पर्याप्त रूपमा गर्न नसकेको स्वीकार गरे।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताइन्। ‘सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउँछन्’, उनले भनिन्, ‘कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो।’

वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, सुनौलो परिवार नेपाल, मेरिस्टोप्स, ओम हस्पिटल र बगही प्रथामिक स्वास्थ्य केन्द्र रहेको छ। वीरगञ्ज महानगरमा आव २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका २३ जनाले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए। सोही अवधिमा २० वर्षमुनिका १२ हप्तासम्मका गर्भ रहेका ९१ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका थिए।

आव २०८०/८१ मा वीरगञ्ज महानगरमा २० वर्षभन्दा माथिका उमेर समूहका २४५ जनाले १२ हप्तामाथिका गर्भवतीले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा छन्। त्यस्तै २० वर्षमाथिका ९७३ जनाले १२ हप्ताभन्दा धेरै समयको गर्भ सर्जिकलमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुरले गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न नहुने बताइन्। ‘सुरक्षित गर्भपतन सेवा अस्थायी परिवार नियोजनको माध्यम होइन।’

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ११:३०:३४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology