चितवन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल निजामती सेवा पुरस्कार २०८१ बाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गत वर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अवसरमा शनिबार अधिकृत लम्साललाई प्रदान गरिएको हो । काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल सरकारका उपसचिवसमेत रहेका लम्साल विगत आठ महिनाअघिदेखि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत छन् । २७ वर्षअघि २०५४ साल भदौ १५ गतेबाट निजामती सेवामा प्रवेश गरेका लम्साल मुखिया, खरदार हुँदै २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रशासनतर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए ।
२०७८ सालमा कार्यक्षमताको आधारमा उपसचिवमा बढुवा भएका उनी सेवारत सरकारी कार्यालय, जिल्ला र विभागबाट ११ वटा सम्मान पाइसकेका नेपाल सरकारका कुशल कर्मचारी हुन् । कार्यक्षमतामा अब्बल साबित हुँदै आएका लम्सालसँग अहिलेसम्म १८ वटा सरकारी कार्यालयमा काम गरेको अनुभव छ ।
लम्साल इच्छाकामना गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत समेत हुन् । उनी २०७७ सालमा इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भै करिब १८ महिना सेवा गरेका थिए । उनकै कार्यकालमा इच्छाकामना गाउँपालिकामा थुप्रै राम्रा कामहरुको सुरुवात भएका थिए ।