गोरखा । गोरखा जिल्ला लगायत धादिङ, चितवन, मकवानपुर, तनहुँ, लमजुङ लगायतका ६ वटा जिल्लाका चेपाङ समुदायले आज गोरखामा न्वागी पर्व मनाएका छन् ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका स्थित तोमनडाँडामा भएको कार्यक्रममा नेपाल चेपाङ सँघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा शहिदखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सना, आदिवासी जनजाति महासँघका अधिकारी लगायतले पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
चेपाङ जातिका लागि नयाँ वर्ष सुरुवातको रुपमा लिइने यस पर्वलाई अघिल्लो दिन पितृहरुको पुजा गर्ने र दोस्रो दिन नाचगान गरेर नयाँ वर्षको रुपमा मनाउने गरिएको नेपाल चेपाङ सँघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।
नेपालका २६ जिल्लामा ८४ हजारको सँख्यामा चेपाङ जाति रहेको उहाँको भनाई थियो । गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदायका बालबालिकाहरुलाई आवासिय रुपमा निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो ।
७५० भन्दा धेरै घरधुरीमा रहेका चेपाङहरु यस पालिका भित्रका आदिपुत्रका रुपमा नदि किनारा क्षेत्रमा रहेको उहाँको भनाई थियो । यहाँ रहेका भिरपाखाहरुमा खेती गर्न सिकाउने यिनै चेपाङहरु भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तिमिल्सिनाले बताउनुभयो ।