Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामूहिक रुपमा न्वागी मनाउँदै गोरखा गण्डकी गाउँपालिकाका चेपाङ समुदाय

सामूहिक रुपमा न्वागी मनाउँदै गोरखा गण्डकी गाउँपालिकाका चेपाङ समुदाय

रासस

१५, भाद्र २०८१
सामूहिक रुपमा न्वागी मनाउँदै गोरखा गण्डकी गाउँपालिकाका चेपाङ समुदाय
images

मुग्लिन । चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् । यस वर्ष जिल्लामा रहेका चेपाङ समुदायले सामूहिक रुपमा छोनाम पर्व मनाउने निर्णय भएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाडाँमा सामूहिक रुपमा न्वागी मनाउन लागिएको हो ।

images
images

चेपाङको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो भदौ २२ गते राष्ट्रिय न्वागी पर्व मनाउने गरिएको अध्यक्ष चेपाङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखा गरी चार जिल्लामा पालैपालो न्वागी मनाउने गरेका छौँ, यो वर्ष गोरखामा मनाउँदै छौँ ।” उहाँका अनुसार चेपाङ समुदायले विगत नौ वर्षदेखि सङ्घको पहलमा सामूहिक रुपमा उत्सव जस्तै गरी न्वागी मनाउँदै आएका छन् ।

उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भदौ २२ गतेलाई राष्ट्रिय रुपमा मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरुको कूलअनुसार भदौको पूर्णिमादेखि महिनाभरि मनाउने गरिन्छ ।” अध्यक्ष चेपाङका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाँइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।

न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनका रुपमा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो । न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङले कुनै काम नगरी नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ रहेका अध्यक्ष चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै चितवनमा ३५ हजारको सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् भने २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको अध्यक्ष चेपाङले बताउनुभयो ।

images
प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - १९:०४:५८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology