Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा बोलबम मेला : एक लाख ३० हजारले स्नान गरेको अनुमान

देवघाटमा बोलबम मेला : एक लाख ३० हजारले स्नान गरेको अनुमान

इच्छाकामना न्युज

३०, श्रावण २०८१
देवघाटमा बोलबम मेला : एक लाख ३० हजारले स्नान गरेको अनुमान

देवघाट । यसवर्ष साउन महिनामा करिब एक लाख ३० हजार जना भक्तालुले देवघाटमा स्नान गरेको अनुमान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार अन्तिम सोमबारको उपस्थितिले भक्तालुको आगमन बढाएको हो ।

images

‘सुरूका सोमबार सोचेजस्तो भक्तजन आउनुभएन, तर अन्तिम सोमबार धेरै भक्तालु आउनुभयो’, क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भने, ‘सुरूमा कम भए पनि पछि आएका भक्तालुहरुको सङ्ख्याले गत वर्षसरह पु¥यायो ।’

उनका अनुसार अन्तिम सोमबारमात्रै करिब ५० हजारको हाराहारीमा भक्तालुले देवघाटमा स्नान गरेका थिए । सुरूका दिनमा क्षेत्र विकास समितिले नदीको बहाब र मौसमलाई मध्यनजर गर्दै नदीकिनारमा नजान सतर्क गराएका कारण पनि भक्तजनको उपस्थिति कम रहेको उनले बताए । ‘सुरूका दिनमा मौसम पनि खराब थियो, त्यसकारण हामीले सतर्कताका लागि निरन्तर सूचना सम्प्रेषण ग¥यौँ’, उनले भने, ‘अर्को कुरा सिमलताल दुर्घटनाले पनि असर ग¥यो ।’

तुलनात्मकरुपमा पाँचवटा सोमबार परेको वर्ष भक्तजनहरुको सङ्ख्या बढी हुने गरेको उनले सुनाए । ‘यसवर्ष चारवटा मात्रै सोमबार पर्दा धार्मिक आस्थाप्रति बढी विश्वास गर्नेहरु कम आउनुभयो’, उनले भने ।

यसवर्ष चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुरलगायतका जिल्लाबाट भक्तजन आएका उनको भनाइ छ । ‘त्यसबाहेक भारतबाट पनि भक्तजन आएका पाइयो’, उनले भने ।

पार्किङको समस्या

देवघाट आउने भक्तजनले यसवर्ष पार्किङको व्यवस्थापन सुधार्न क्षेत्र विकास समितिलाई सुझाव दिएका छन् । भक्तजनको सङ्ख्या बढी भए पनि सवारीसाधनको सही व्यवस्थापन गर्न नसक्दा भक्तजनलाई थोरै असहज भएको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीलाई यसवर्ष पार्किङको व्यवस्थापनप्रति भक्तजनहरुले सुझावसहितका प्रश्न गर्नुभएको छ’, उनले भने, ‘आगामी दिनमा हामी त्यसलाई सुधार्ने पक्षमा छौँ ।’

पार्किङका लागि डिभिजन वन कार्यालयसँग समन्वय आवश्यक रहेको उनले बताए । डिभिजन वन कार्यालयले अनुमति दियो भने पार्किङका लागि आवश्यक पर्ने क्षेत्रलाई सम्याएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । पार्किङबाहेक अन्य व्यवस्थापनप्रति प्रश्न नआएको उनले बताए ।

‘हामीले लामो समयको अनुभवलाई प्रयोग गरेका थियौँ’, उनले भने, ‘त्यसकारण पनि यसपटक भक्तजनबाट त्यति धेरै गुनासो आएको पाएनौँ’, उनले भने, ‘हरेक वर्ष आउने गुनासोलाई सम्बोधन गर्ने प्रयास पनि गर्दै आइरहेका छौँ ।’ सबैभन्दा धेरै सुरक्षामा ध्यान दिनुपर्ने हुँदा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्दै आएको उनको भनाइ छ ।

हिन्दुधर्मप्रति आस्था राख्ने भक्तालुहरुले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनको आकाङ्क्षा पूरा हुने विश्वास छ । शालिग्राम पाइने नदी भनेर चिनिएको मुस्ताङबाट आएको काली र गोसाइँकुण्डबाट आएको त्रिशूलीको सङ्गमस्थल भएकोले पनि देवघाटधामलाई धार्मिक गन्तव्यको रुपमा लिने गरिन्छ । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १०:१९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology