Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा भक्तजनले ल्याउने प्लाष्टिक चुनौती बन्दै

देवघाटमा भक्तजनले ल्याउने प्लाष्टिक चुनौती बन्दै

इच्छाकामना न्युज

९, श्रावण २०८१
देवघाटमा भक्तजनले ल्याउने प्लाष्टिक चुनौती बन्दै

प्रेम क्षेत्री, चितवन । भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ ।

images

IMG-20240723-WA0005.jpg

अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत भक्तजन आउने गरेका छन् । उनीहरुले पूजा अर्चनाका लागि ल्याउने अगरबत्ती, अबिर केशरीका प्लाष्टिक, खानेपानीका बोत्तल, पूजा सामग्री राखेर ल्याइका प्लाष्टिकको झोला र सुर्तीजन्य प्लाष्टिकका खोल समेत यत्रतत्र फाल्ने गर्दा फोहर बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । यस्ता फोहर संकलनका लागि निश्चित स्थान तोकिए पनि तोकिएको स्थानमा नफाल्ने भक्तनजनको लापरवाहीले प्रदुषित देखिन्छ । शव दाहसंस्कारका लागि आउने मलामीले फाल्ने प्लाष्टिकका बोत्तल, ब्लेड, कपडा समेतले नदी क्षेत्र प्रदुषित बनेको छ ।  

मंगलबार मात्रै चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाट क्षेत्रबाट ५ क्विन्टल प्लाष्टिकजन्य फोहर संकलन गरिएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाट क्षेत्र सरसफाई कार्यक्रममा उक्त फोहर संकलन गरिएको हो । उक्त सरसफाई कार्यक्रममा देवघाट संरक्षण प्रतिष्ठान, रामजानकी बालिका आश्रम, इश्वर बाल सेवा आश्रम, गार्गी कन्या गुरुकुल, नेपाल प्रहरी, भरतपुर महानगर प्रहरी, भूपू सैनीक, देहेन थर्वालिङ बौद्ध गुम्बा, नेपाल मगर बौद्ध सेवा समितिका प्रतिनिधि एवं स्थानीय गरी डेढ सय बढी सहभागी थिए ।

समुदायका नागरिकलाई नै गैँडाकोट ५ स्थित सहमती संस्थाले सक्रिय बनाउँदै सहभागी गराउँदै आएको छ । ‘सफा र स्वच्छ नारायणी’ गराउने उद्देश्यका साथ सहमतिका क्रियाकलाप अघि बढाइएको छ । नारायणी नदीलाई सफा र स्वच्छ कायम राख्न ‘नदीसँगै हामी अभियान’ समेत सञ्चालन गरिएको छ । सहमतिको अगुवाइमा शुरु भएको यस अभियानमा चितवन र नवलपुरका गरी १२ वटा संघ संस्थाले सहकार्य समेत गरेका छन् ।

IMG-20240723-WA0003.jpg

जल प्रदुषण, नदीजन्य पदार्थ उत्खनन र ल्याण्डफिल्ड साइट ब्यवस्थापन मुख्य चुनौती पहिचान गरी यसको संरक्षणका लागि सोही अनुरुपका कार्यक्रम तय गरिएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकरात्मक नतिजा दिन चाहन्छौँ ।” धार्मिक क्षेत्रमा हुने फोहरजन्य गतिविधिले चिन्तित तुल्याएको बताउँदै उहाँले नागरिकमा चेतना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा कार्यक्रम सोही लक्षित छन् ।” उहाँले भन्नुभयो ।  

नदी मानव सभ्यातासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रीत छन् । नदी प्रदुषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजिकरण समेत गर्दै आएको छ ।

देवघाट क्षेत्रमा हुने फोहर कम गर्न देवघाट आउने भक्तजनको अनुमान गरी उनीहरुले ल्याउने फोहरको आंकलन गरी त्यस्ता फोहर ब्यवस्थापन गर्नुपर्ने डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी बताउनुभयो । उहाँले संकलन गरिएको फोहर बाँदरले समेत लथालिङ्ग पार्ने भएकोले बाँदरले समेत फोहर गर्न नमिल्ने गरी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।  

सहमतिले देवघाट क्षेत्र विकास समिति, यहाँका स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधिलाई समेत अभिमुखिकरण गरेको छ । घरायसी फोहरमैला पृथकीकरण सम्बन्धी अभिमुखिकरण गर्नुका साथै फोहर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ ।  
सहमतिले ५ वटा प्लाष्टिक बोटलमात्रै राख्ने ‘मेटलबिन’, त्यस्तै प्लाष्टिकजन्य कागज राख्ने ‘मेटलबिन’, ब्लेड बक्स देवघाट क्षेत्र विकास समितिलाई प्रदान गरेको थियो ।    

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुण्यकार्यमा सरिक हुँदै गर्दा फोहर गर्न नहुनेमा जोड दिनुभयो । देवघाट क्षेत्र विकास समितिको एक्लो प्रयासले फोहोर व्यवस्थापन चुनौति बनेको बताउँदै उहाँले सरसफाइका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।  

हरेक सोमबारको बोलबम मेलापछि मंगलबार सरसफाई अभियान नै सञ्चालन गर्नेगरी कार्यक्रम तय गरेका छन् । यसमा सहभागिताका लागि देवघाट क्षेत्र विकास समितिले सम्पूर्णमा आह्वान समेत गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - २१:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology