सिमलढाप, २४ माघ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको तामाङ समुदायले २८५७ औं नयाँ वर्ष अर्थात सोनाम ल्होछार आज मनाउदैछ। तामाङ समुदायको सोनाम ल्होछार यहि माघ ३० गते परेको भएपनि नेपाल तामाङ्ग घेदुङ् इच्छाकामनाले भने विविध साँस्कृतिक सहित आज मनाउन लागेको हो।
‘राष्ट्रिय जनगणना २०७८ मा तामाङ्ग जाती, तामाङ्ग भाषा, बौद्ध धर्म लेखौ, कोविड १९ माहामरीमा सोनाम ल्होछार २८५७ घर घरमा भब्य रुपले मनाऔ’ भन्ने नाराका साथ इच्छाकामना गाउँपालिकाको वडा नं. ७ स्थित स्याङ्दीमा मनाउन लागेको हो।
कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नं.७ स्थित उर्गेन लिङ बौद्ध गुम्बा, सुन्दर वस्तीमा बिहान १० बजे देखि सुरु भएको उक्त कार्यक्रममा सास्कृतिक, जनचेतना तथा शुभ कामना आदान प्रदान गरिने तामाङ्ग घेदुङ इच्छाकामनाका अध्यक्ष इन्द्रमाया लामाले जानकारी गराउनुभयो। उहाँका अनुसार कार्यक्रममा सेलो नृत्य प्रतियोगीता र गत वर्षका एसइई उत्तीर्ण विधार्थीहरुलाई सम्मान पनि गरिने छ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्गको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा करिव साढे २ लाख खर्च हुने अनुमान गरिएको छ। जसका लागी एक लाख पचास हजार गाउँपालिकाले विनियोजन गरेको छ भने बाँकी तामाङ घेदुङ इच्छाकामनाले बेहोर्ने घेदुङका कोषाध्यक्ष लामाले जानकारी गराउनु भएको छ। ल्होछार कर्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने बताइएको छ।