स्याङ्गदी । भरतपुर अस्पतालको ६८ औं वार्षिकोत्सवको अवसरमा ईच्छाकामना गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । वडा नं. ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्गदीमा विशेषज्ञ चिकित्सक सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा नाक–कान–घाँटीतर्फ ४१, मेडिसिनतर्फ ३२५, हाडजोर्नीतर्फ ४०, भिडियो एक्सरेतर्फ १५५, छाला तथा यौनरोग तर्फ ७५, सर्जरीतर्फ ३६, स्त्री तथा प्रसुती रोगतर्फ ६७, दन्त रोग तर्फ ५६, १७ जनाको दाँत निकालिएको र पाँच जनाको माईनर सर्जरी गरिएको छ ।
शिविर उद्घाटन समारोहमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिकामा अझै धेरै विकट र स्वास्थ्य उपचार पहुँचका लागि कठिन स्थानहरु भएको चर्चा गर्दै भरतपुर अस्पतालले भविष्यमा अन्य विकट ठाउँहरुमा पनि शिविर राख्ने आशा व्यक्त गर्नुभयो । स्वास्थ्य समस्या लिएर बसेका स्थानीयलाई गाउँमै आएर सेवा दिएकोमा प्रशंसा गर्दै अध्यक्ष गुरुङले गाउँगाउँमा विशेषज्ञ सेवा सहितको शिविर गर्न गाउँपालिकाको सक्दो सहयोग रहने बताउनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदा दिनहरुमा अझै दुर्गम वडा र गाउँहरुमा वर्षभरी नै यस्ता खाले शिविर आयोजना गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । भरतपुर अस्पताल गरिब र विपन्न जनताको उपचारका लागि सधैं तयार रहेको भन्दै उहाँले पालिका र वडाको आवश्यक सहयोग र समन्वय भए यस्ता कार्यक्रमहरु अझै धेरै गर्न सकिने बताउनुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा.श्रीराम तिवारीले विभिन्न सरोकारवाला, गाउँपालिका र विशेषज्ञहरुको सल्लाहमा यो ठाउँमा शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले प्रयोगशाला (सुगर, पिसाब परीक्षण), भिडियो एक्सरे, ईसिजी मेसिन सहित विशेषज्ञ टोलीले गाउँमा आएर उपचार गर्न पाउँदा आफूलाई खुशी लागेको भन्दै यस्ता कार्यक्रमबाट धेरैभन्दा धेरै लाभ लिनुपर्ने बताउनुभयो ।
शिविरमा समस्या देखिएर थप उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालमै उपचारको सेवा दिने व्यवस्था गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा स्वागत गर्दै इच्छाकामना वडा नं. ७ नं. अध्यक्ष बमबहादुर थापा मगरले आफ्नो वडामा यस्तो भव्य शिविर गर्न पाउँदा खुशी लागेको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले यस्तो शिविरले पालिकावासी सम्पूर्ण बिरामीले सजिलोसँगै अस्पतालमा जस्तै सेवा पाएको बताउनुभयो ।
भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरिएको जानकारी दिंदै प्रवक्ता डा. सापकोटाले अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि ईसिजी र भिडियो एक्सरे मेसिन सहित गाउँमा आएर सेवा दिएको बताउनुभयो ।