एजेन्सी । भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।
भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ ।
वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म आठ जनाको मृत्यु र करिब ८० जना घाइते भएको जानकारी दिइन् । उनले मृतकको सङ्ख्या बढ्न सक्ने बताइन् । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् ।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए । उनले सामाजिक सञ्जाल एक्समा भने, “नजिकैका क्षेत्रहरूबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्पर्क गरिएको छ ।” उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ ।
हरदा जिल्ला अस्पतालका सर्जन मनीष शर्माले केन्द्रमा ठूलो सङ्ख्यामा मानिस हताहत भएको बताए । “हाम्रो अस्पतालमा आठ जनाको मृत्यु भएको छ, अहिलेसम्म ९० जनालाई यहाँ भर्ना गरिएको छ र हामीले तीमध्ये १५ जनालाई ठूला अस्पतालमा रिफर गरेका छौँ”, उनले भने, “घटनास्थलबाट उद्धार भइरहेका धेरै मानिसलाई यहाँ ल्याइँदैछ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “मानिसहरूको मृत्युले म दुःखी छु ।” उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए ।