Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगर नगरपालिकाको ३४ औँ नगर अधिवेशन सम्पन्न

रत्ननगर नगरपालिकाको ३४ औँ नगर अधिवेशन सम्पन्न

पत्रपत्रिका

२६, पौष २०८०
रत्ननगर नगरपालिकाको ३४ औँ नगर अधिवेशन सम्पन्न

रत्ननगर । रत्ननगर नगरकार्यपालिकाको नगरसभाको ३४औँ अधिवेशन नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।

images

नगरप्रमुख सापकोटाले नगरसभामा निणयार्थ पेस गरेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा संशोधन गर्न बनेको ‘विनियोजन ऐन पहिलो संशोधन विधेयक २०८०’ सर्वसम्मतबाट पारित भएको छ ।

विनियोजन ऐन संशोधन समितिका संयोजक उपप्रमुख यादवप्रसाद पाठकले वडातहमा छनोट गरिएका योजना सम्पन्न हुन नसकेका कारण अन्य शीर्षकमा रकमान्तर गर्नुपरेको बताउँदै आगामी वर्ष दीर्घकालीन योजना छनोट गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सामाजिक समितिका संयाजक बालकृष्ण चापागाईंले ज्येष्ठ नागरिक तथा बालसञ्जाल गठनसम्बन्धी निर्णयार्थ पेश गरेको प्रस्ताव वडा नं-१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र कार्यपालिका सदस्य बबिताकुमारी चौधरीले समर्थन गरेका थिए । ज्येष्ठ नागरिकको हकहित र प्रवर्द्धन तथा बालबालिकालाई संगठित गरी बालमैत्री शासन लागू गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

यस्तै, सुशासन समितिका संयोजक कलाधर पौडेलले न्यायिक समितिको अधिकार वडाबाटै निरुपण गर्नुपर्ने प्रस्तावको जवाफ दिँदै न्यायिक समितिका संयोजक यादवप्रसाद पाठकले वडास्तरीय मेलमिलाप समितिलाई सो अधिकार रहेको र वडाबाट निरुपण हुन नसकेका मुद्दाहरुमात्र नगरस्तरीय मेलमिलाप समितिमा पठाउन सकिने बताए ।

नगरसभामा नगरप्रवक्ता कुलप्रसाद सापकोटाले मन्तव्य राखेको सभामा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सहजीकरण गरेका थिए । नगरसभाले नगरकार्यपालिका, वडासमिति र विषयगत शाखाले विनियोजन गरेको रकममध्ये १० प्रतिशतबाट नबढ्नेगरी कुनै एक वा बढी शीर्षकबाट कुनै एक वा एकभन्दा बढी शीर्षकमा रकम निकासा वा खर्च गर्न सकिने वित्तीय व्यवस्थाअन्तर्गत नगरसभाले शीर्षकान्तर गर्न सकिने प्रस्ताव पारित गरेको छ ।

वडास्तरीय योजनाको संशोधित सूचीमा लोकसेवा तयारी कक्षा, मोज्याक टायल, ढलान बाटो, कालोपत्र निर्माण, ज्येष्ठ नागरिक सम्मान, उद्यमशीलता विकास कार्यक्रम, पूर्वाधार निर्माण, वातावरणमैत्री कार्यक्रम, खानेपानी धारा जडान, विद्यालय फर्निचर तथा भवन मर्मत र वडा प्रोफाइल तथ्यांक संकलन रहेका छन् ।

यस्तै, राजस्व संकलन घरदैलो अधियान, राजस्व सुधार योजना, प्राविधिक शिक्षाको छात्रवृत्ति, ल्यान्डफिल्ड प्रभावित क्षेत्रमा सहयोग, सार्वजनिक व्यायामस्थल निर्माण, कला, मातृभाषा संस्कृति प्रवर्द्धन, मठमन्दिर संरक्षण र वडा नं–१६ मा सभाहल निर्माण बजेटको रकमान्तर तथा शीर्षकान्तर गरिएको छ ।

 

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०९:४४:५६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology