रत्ननगर । रत्ननगर नगरपालिकाले भरतपुर महानगरपालिका वडा नं–१२ घर भई ठूली भेरी नगरपालिकाबाट भर्खरै सरुवा भई आएका सुकदेव लम्साललाई २६औँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्वागत गरेको छ । लम्साललाई ढाकाटोपी लगाएर स्वागत गरिएको हो ।
चितवनसहित ११ पालिका र सरकारी निकायमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिसकेका लम्सालले २७ वर्ष निजामति सेवामा काम गरिसकेका छन् । यसअघि कार्यकारी अधिकृत र नगरप्रमुखको समेत दायित्व बहन गरिसकेका उनले सरकारको नीति, कानुन र कार्यविधिको दायरामा रही जनप्रतिनिधिको निर्देशनअनुसार काम गर्न र आफूले हासिल गरेको अनुभव रत्ननगरमा प्रयोग गर्न चाहेको बताए ।
निजामति सेवाको दौरानमा रत्ननगर नगरपालिकामा सुशासन प्रवर्द्धन, कर्मचारीको व्यवस्थापन र पूरा हुन बाँकी रहेका कामकारबाही इमानदारितापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै काम गरेर देखाउन आफ्नो लागि अभूतपूर्व अवसर भएको जिकिर गरे ।
नगरप्रमुख प्रलाद सापकोटाले प्रमुख प्रशासकीय अधिकृत लम्सालको आगमनले रत्ननगरलाई रत्न बनाउन सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्दै राम्रो काम गर्दागर्दै पनि नगरवासी सन्तुष्ट नभएको र युवापिंढीमा व्यापक निराशा छाएका कारणले कर्मचारी प्रशासनको चुस्त व्यवस्थापनसहित परिवर्तन गरेर देखाउन आग्रह गरे ।
नगरउपप्रमुख यादवप्रसाद पाठकले आफूहरु निर्वाचित भएर आएदेखि तेस्रो प्रशासकीय अधिकृतका रुपमा लम्सालको स्वागत गर्दै कानुनले गर्न नहुने भनेको काम गर्ने सवालमा सजग हुन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा संस्थापक विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रवक्ता कुलप्रसाद सापकोटा, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेलगायत वडाध्यक्षहरु, वडा सचिवहरु, कार्यपालिका सदस्य एवं विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।