Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

इच्छाकामना न्युज

२९, मंसिर २०८०
मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र
images

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।

images
images

यो सहित पूर्वी खण्डमा हालसम्म १२ दशमलब पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मंसिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडी बढाइएको थियो ।

उनले भने, ‘यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडी बढाउने तयारी गरिएको छ ।’

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलब पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलब पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फी रुपमा १२ दशमलब पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१दशमलब पाँच किलोमिटर दूरीको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडी बढेको पाण्डेको भनाइ छ। पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलब ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइएको छ ।

विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ। डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - २१:१२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology