कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पहिलो पटक गाउँपालिकाको वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्गमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार यहि मंसिर २० गते गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक तथा अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा हुन लागेको हो ।
गाउँपालिकाको सार्वजनिक सुनुवाई वडावडामा गर्ने निति अनुरुप यसपटक वडा नं. ६ को चण्डिभञ्ज्याङ्ग स्थित स्वाथ्य चौकीको प्राङ्गणमा आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । नागरिकको गुनासो सुन्न गाउँपालिकाको सेवालाई अझै प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको अयोजना गाउँपालिकाले नियमित गर्ने गरिएको उनले बताए ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन सम्पूर्ण नागरिकहरुलार्ई अध्यक्ष गुरुङले आग्रह गरेका छन् । कार्यक्रमको सहजिकरण इच्छाकामना न्युज डटकमको संचालक संस्था इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि.ले गर्ने भएको छ ।
