Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको कुयलघारीबाट विस्थापित भै सिमलढापमा बसेका भुकम्प पिडितको बस्ती डिभिजन वनले हटाउने

इच्छाकामनाको कुयलघारीबाट विस्थापित भै सिमलढापमा बसेका भुकम्प पिडितको बस्ती डिभिजन वनले हटाउने

images

रासस

११, मंसिर २०८०
इच्छाकामनाको कुयलघारीबाट विस्थापित भै सिमलढापमा बसेका भुकम्प पिडितको बस्ती डिभिजन वनले हटाउने
images

चितवन । विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भई तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउन डिभिजन वन कार्यालय चितवनले प्रक्रिया सुरु गरेको छ । कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो ।

तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका एक सय २७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो । तत्कालीन समयमा छ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर चार सय ३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन् ।

सोही स्थानमा पक्की घर निर्माण गर्ने, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएको हुँदा हटाउन लागिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मकवानपुरले उक्त वन क्षेत्र खाली गराई मन्त्रालयलाई जानकारी गराउनु भनी परिपत्र गरेको हुँदा वन ऐन २०७६ को दफा १२ मा भएको व्यवस्था र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ मा भएको व्यवस्था बमोजिम सो वन क्षेत्र खाली गर्न लागिएको हो ।”

अहिले कतिपय पुरानै स्थानमा र कतिपय अन्यत्र गइसकेको र बाँकी रहेका ४५ परिवारलाई हटाउन लागिएको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा रहेका पाँचवटा कबुलियती वनमा उनीहरुलाई तत्कालका लागि राखिएको खनालले बताउनुभयो । उहाँले थप्नुभयो, “सूचना जारी गरिसकेका छौँ । अब अतिक्रमण नियन्त्रण रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित सरोकारवालासँग छलफल गरी सो क्षेत्र खाली गराइने छ ।”

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - २०:२८:४२ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology