इच्छाकामना । चितवनको एतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर प्रांगणमा लाग्ने पञ्चमी मेला यस वर्ष भव्य रुपमा मनाउने तयारी भएको छ। हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस बर्ष मंसिर १५ र १६ गते भव्य रुपमा लाग्ने भएको हो ।
मेलामा राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको प्रस्तुती हुनुका साथै चुड्का प्रतियोगिता समेत हुने इच्छाकामना सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मेलामा चर्चित कलाकारहरु चन्द्र परियार, शित्तल गुरुङ, रमेश परियार, पृथ्वी गुरुङ, गोविन्दबाबु रिजाल, सरीता गुरुङ, सीता के.सी., रुपा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।
इच्छाकामना मन्दिरमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र विहान पुजाआजाका साथै बली चढाइने परम्परा रहेको छ। जस अनुसार यस वर्ष मंसिरको १५ गते रातभर मेला लाग्ने र १६ गते विहान पुजाआजाका साथै बली चढाइनेछ ।
कार्यक्रमको आयोजक सिद्धबाबा मन्दिर संरक्षण समिति रहेको छ भने संंरक्षक एवं प्रायोजक इच्छाकामना गाउँपालिका रहेको छ । साथै मिडिया पार्टनरको रुपमा इच्छाकामना न्युज डटकम, इच्छाखबर डटकम, इच्छाकामना एफ एम र एभिन्युज टिभि रहेको छ ।
केहि बर्षदेखि गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनको लागि सो दिन दिन सार्वजनिक विदा समेत दिन थालेको छ। इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ। मनकामना माईको सात दिदी बहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ।
इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाहरुले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने स्थानीयमा सदियौ देखि जनविश्वास रहेको पाइन्छ ।