हात्तिवाङ । शनिबारदेखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान इच्छाकामना गाउँपालिकाको आयोजनामा वडा नं. २ स्थित हात्तिवाङबाट सुरु भएको छ । आइतबार हात्तिवाङमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले अभियान मनाउन सुरु गरेको हो ।
डिसेम्बर २५ देखि नोभेम्बर १० तारिखसम्म चलाईने यो अभियान इच्छाकामना गाउँपालिकाको विभिन्न वडामा सडक नाटक प्रदर्शन, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम गर्दै अन्तिम दिन मंसिर २४ गते उपप्रदाङ्गगढीमा समापन गरिने गाउँपालिकाका सामाजिक विकाश शाखा प्रमुख पार्वती मगरातीले जानकारी दिनुभयो ।
हात्तिवाङमा आयोजित कार्यक्रमको सभापति वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगर रहनुभएको थियो भने प्रमुख गाउँपालिका उपाध्यक्ष माया सिलवाल रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवाले अब कोही पनि महिलाले कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो । ‘अब सबै महिलाले सबै खाले महिला हिंसा विरुद्ध लड्न जरुरी छ ।’ –उहाँले भन्नुभयो ।
कार्यक्रममा हात्तिवाङ माविका विद्यार्थीहरुले महिला हिंसा सम्बन्धी जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।