आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३, मा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । रोयल्स होम रिसोर्टको सभाहलमा सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सहकारीको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले आर्थिक वर्ष ०७९/०८० को बार्षिक कार्य प्रगती प्रतिवेदन र भाबि कार्य योजना, लेखा समितीका संयोजक कृष्णमान तामाङ्गले आर्थिक वर्ष ०७९/०८० को लेखा प्रतिवेदन, सहकारीका कोषाध्यक्ष प्रकाश अधिकारीले आर्थिक वर्ष ०७९/०८० को आर्थिक प्रगती प्रतिवेदन, सहकारीका सचिव प्रेम कुमार श्रेष्ठले आर्थिक वर्ष ०७९/०८० को प्रगती समिक्षा तथा आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्ताविक वार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
१ सय २० जना शेयर सदस्यहरुको रु. २ करोड ४ लाखको शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्थाको शेयर सदस्य सख्या १७११ जना र शेयर पुँजी थप गरी ३ करोड ७५ लाख रुपैंया पु¥याईएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी, संस्थाको आर्थिक वर्ष ०७९/०८० संचालन आम्दानी १ करोड ७० लाख ३५ हजार १ सय ४९ रुपैंया ५८ पैसा रहेको छ भने, संचालन खर्च १ करोड १५ लाख १७ हजार ६ सय २७ रुपैंया २० पंैसा रहेको सहकारीको प्रतिवेदनमा जनाईएको छ ।
यस्तै, सहकारीको साधारण सभा कार्यक्रममा ८ जना उत्कृष्ट बाल बचतकर्ता, १० जना उत्कृष्ट बचत कारोबारकर्ता विभिन्न पुरस्कारद्धारा सम्मान गरिएको छ । स्थानीय स्तरमा वित्तिय कारोबार गरी यस क्षेत्रको स्थानीयको आर्थिक उत्थान होस भन्ने हेतुले स्थापना गरिएको सहकारीले आँबुखैरेनी गाउँपालिकाको ६ वटै वडामा माई छिम्केश्वरी सहकारीको सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्ने तयारी गरेको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताउनुभएको छ ।
यसैगरी, शेयर सदस्यको हितलाई मध्यनजर गर्दै स्वास्थ्य विमा दुर्घटनामा मृत्यु भएमा थप आर्थिक सहयोग रु. १ लाख र प्राकृतिक रुपमा मृत्यु रु. २५ हजार बाट बढाएर रु. ५० हजार सम्म सहयोग गरिने श्रेष्ठले बताउनुभएको छ ।
सहकारीले बचत तर्फ दैनिक बचत, मासिक बचत, बाल बचत, महिला बचत, व्यापारीक बचत, शेयर बचत, मुद्धती बचत, कर्मचारी बचत, सामुहिक बचत, संस्थागत बचत र जेष्ठ नागरिक बचत कार्यक्रम संचालन गरेको छ, भने कर्जा लगानी तर्फ व्यक्तिगत कर्जा, व्यापारिक कर्जा, घर÷जग्गा कर्जा, सवारी साधन खरिद कर्जा, कृषि तथा पशुपालन कर्जा, भ्रमण तथा यात्रा कर्जा, शैक्षिक कर्जा, मुद्धति कर्जा, अल्पकालिन कर्जा, घरायसी सामान खरिद कर्जा र बैदेशिक रोजगार कर्जाका कार्यक्रम संचालन गरेको सहकारीले जनाएको छ ।