भालुमारा । चितवनको इच्छाकामना वडा नं ७ भालुमारामा बृहत् स्वास्थ शिविर गरिएको छ। नेकपा माओबादी समर्थित राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन चितवनको आयोजनमा सो स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सो अबसरमा विभिन्न ९ विद्याका चिकित्सकहरु र स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका थिए। “जनतासंग अस्पताल“अभियानका अभियान्ता डा डा.भोजराज अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्यशिविर गरिएको जानकारी दिनुभयो।
डा.अधिकारी केही महिना अगाडिदेखि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै ग्रामीण क्षेत्रमा जान सुरु गर्नुभएको हो। उहाँले इच्छाकामनाको वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम,सुगर,प्रेसर आदिका बिरामी बढि भएको बताउनुभयो ।
नेकपा माओबादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताउनुभयो।
स्वास्थ्य शिविरमा सेवा लिन आउनुभएका स्थानीय जुल्फे थापा मगरले यसरी गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा गाउँलेहरु निकै खुशी भएको बताउनुभयो। त्यस्तै सेवाग्राही लक्ष्मण तामाङ निरन्तर बिरामी पर्दा समेत भरतपुर जान नसकिरहेको उल्लेख गर्दै गाउँमै डाक्टर पुगेर जाँच्न पाएकोमा दङ्ग हुनुहुन्थ्यो । स्थानीयले यस्ता स्वास्थ्य शिविर सरकारी तहबाटै नियमित गर्न अनुरोध समेत गरेका छन्।
स्वास्थ्य जाँच गरी औषधी आवश्यक पर्ने बिरामीको लागि ३ महिनाको औषधी निशुल्क वितरण गरिएको थियो।