चितवन : सपना भिलेज सोसल इम्प्याक्टले चितवनका एक हजार दुई सय विपन्न बालवालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा आयोजना गरेको वाल स्वास्थ्य शिविरमा सीमान्तकृत चेपाङ सहित एक हजार १४१ जना बालवालिकाको स्वास्थ्य परीक्षण गरिएको हो ।
मेडिकल चेक्स फर चिल्डेन नेदरल्याण्डको सहकार्य तथा भरतपुर अस्पतालको प्रविधिक सहयोगमा कालिका,राप्ती,रत्ननगर नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
सीमान्तकृत चेपाङ समुदाय सहित विपन्न परिवारका वालवालिकाको स्वास्थ्य सुरक्षाका लागि विदेशी डाक्टर, सरकारी अस्पताल तथा स्थानीय सरकारसंग सहकार्य गरी शिविर आयोजना गरिएको गिरीले बताउनु भयो । मंसिर ४ गते कालिका नगरपालिकाको सिद्धिबाट सुरु भएको वाल स्वास्थ्य शिविर शनिबार सौराहामा सकिएको छ ।
सो नगरपालिकाको सिद्धिका दुई स्थानमा ३५० जना, इच्छाकामनाको दुई स्थानमा गरी ४५३, राप्तीको थाकलटारमा २१० र सपना स्कुलमा आयोजना गरिएको शिविरमा १२८ जनाको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि प्रदान गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका चार जना चेपाङ बालवालिकामा मुटुरोगको समस्या देखापरेकोले थप उपचारको लागि जिल्लाका अस्पतालमा रिफर गरिएको छ ।
चेपाङ वालवालिकामा रक्तअल्पता, कुपोषण तथा छालाको रोग देखिएकाले उनीहरुको प्रभावकारी उपचार गरी औषधि समेत प्रदान गरिएको कार्यक्रम निर्देशक बस्नेतले बताउनुभयो । इम्पाक्टका अध्यक्ष गिरीले आर्थिक अभाव झेलिरहेका विपन्न समुदायका अभिभावकले छोराछोरीको स्वास्थ्यप्रति जिम्मेवार बन्न नसकेको भन्दै उनीहरुको स्वास्थ्य मबजुत बनाउन विदेशी डाक्टरहरु ल्याएको उपचार गरिएको बताउनु भयो ।
शिविरमा ६ जना विदेशी विशेषज्ञ डाक्टर सहित ७ जना नेपाली विशेषज्ञ डाक्टरहरुले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा इम्प्याक्टका सञ्चालक समितिका सदस्य डा. कृष्णप्रसाद पौडेल समेत सहभागी हुनुभएको थियो । शिविर समापन कार्यक्रममा सपना स्कुलकी अध्यक्ष बर्षा पुरीले कार्यक्रमको उद्देश्य माथी प्रकास पार्नुभएको थियो ।