Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बोटबाटै बिक्री हुन्छ इच्छाकामनाको तामिन र माझगाउँको सुन्तला

बोटबाटै बिक्री हुन्छ इच्छाकामनाको तामिन र माझगाउँको सुन्तला

images

पत्रपत्रिका

४, मंसिर २०८०
बोटबाटै बिक्री हुन्छ इच्छाकामनाको तामिन र माझगाउँको सुन्तला
images

इच्छाकामना । यतिबेला इच्छाकामना गाउँपालिकाको पहाडी भेगमा सुन्तला लटरम्म फलेका छन् । पाकेर पहेँलै भइसकेका सुन्तला टिप्ने बेला भइसकेको छ । कतिपय किसानले सुन्तला टिपेर बिक्रीका लागि बजार पु¥याइसकेका छन् भने केहीले मङ्सिर अन्तिमतिर टिप्ने तयारीमा छन् । इच्छाकामनाको माझगाउँ र तामिनमा यसपटक धेरै सुन्तला फलेको छ ।

इच्छाकामना गाउँपालिका–३, माझगाउँका मीनकुमार गुरूङले मङ्सिर अन्तिमतिर सुन्तला टिप्ने योजना बनाएका छन् । उनले दुई कट्ठामा सुन्तलाखेती गरेका छन् । उनको खेतीआसपास अरु आठ÷नौ जनाले पनि सुन्तला लगाएका छन् । उनले २०६२ सालमा सुन्तला लगाएका हुन् । सुन्तला पाकेपछि सबै किनिदिने भनी ठेकेदारहरुले पहिल्यै किसानसँग सम्झौता गरेका हुन्छन् ।

‘हामीसँग सम्झौता गरेको ठेकेदारले मङ्सिर वा पुस जहिले सुन्तला टिपे पनि उनीहरुले नै पाउँछन् । चल्तीको मूल्यमा उनीहरुले किन्छन्’, उनले भने, ‘ठेकेदारसँग पहिल्यै विक्रीको लागि सम्झौता भएको हुनाले यसलाई बोटबाटै बिक्री भइरहेको भन्छौँ ।’ अहिले सुन्तला प्रतिकिलो ९० देखि १०० रूपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् । व्यापारीले यहाँको सुन्तला फिस्लिङ, मुग्लिनदेखि काठमाडौँसम्म लगेर बिक्री गर्छन् ।

गत वर्ष पाँच लाख रूपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यसवर्ष पनि पाँचदेखि छ लाख रूपैयाँ आम्दानी हुने उनको अनुमान छ । सुन्तलाबाहेक उनले टमाटरखेती पनि गर्छन् । टमाटरबाट वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी हुने उनले बताए । ‘सुन्तला टिपेपछि बोटमा मल हाल्नुपर्छ । सुन्तलाको दाना लागेको बेला रोग लागे औषधि छर्कनुपर्छ’, उनले भने ।

माझगाउँमा सुन्तलाखेती धेरै हुने भएकाले यस ठाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । यद्यपि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको जोन कार्यक्रम भने होइन । यस ठाउँलाई विगतमा कार्यक्षेत्र बनाएका एनजिओले सुन्तला पकेट क्षेत्र घोषणा गरेका हुन् ।

इच्छाकामना गाउँपालिकाको कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार सुन्तलाखेती भएका ठाउँमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएका छन् । गत वर्ष इच्छाकामना–५, तामिनमा कृषि ज्ञान केन्द्रको सहयोगमा सुन्तलाखेती विस्तार तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको थियो । सुन्तला प्रवद्र्धनको कार्यक्रम सञ्चालन भए पनि सुन्तला पकेट क्षेत्र भनेर निश्चित ठाउँमा काम नभएको उनले बताए ।

उनका अनुसार तामिनमा गत वर्षभन्दा यसपटक कम ठाउँमा सुन्तला उत्पादन भएको छ । समग्र पालिकामा यसवर्ष सुन्तलाको खेती र उत्पादनको तथ्याङ्क संकलन गर्ने काम भइरहेको उनले बताए । इच्छाकामनाको तामिन, किटसोरा, माझगाउँ, तल्लो काउले, माथिल्लो काउले, थापाथली, हात्तीबाङलगायतका स्थानमा सुन्तलाखेती हुने गरेको छ ।

यीमध्ये पनि माझगाउँ र तामिनमा धेरैजसोले सुन्तलाखेती गरेका छन् । इच्छाकामनामा ६०० भन्दा बढी किसानले कुनै न कुनैरुपमा सुन्तलाबाट जीविकोपार्जन गरेको उनी बताउँछन् । सुन्तला बिक्रीमात्रै गर्ने व्यापारी करिब ३०० जना रहेको उनले बताए । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - ०९:५४:१६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology