Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामना सहित आसपासका चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न जोड

इच्छाकामना सहित आसपासका चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न जोड

images

रासस

२३, कार्तिक २०८०
इच्छाकामना सहित आसपासका चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न जोड
images

मुग्लिन । मनकामना देवी र सहोदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनहुँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यकारुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । 

चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रूपमा विकास गर्नका लागि स्थानीय अगुवाहरूले अभियान नै सुरुवात गरेका हुन् । अभियानअन्तर्गत मङ्गलबार गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी भगवतीदेवी मन्दिरको प्राङ्गणमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, मन्दिर समितिलगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवालले धार्मिक पर्यटकीय सम्भावना रहेका इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीमाइ प्रचार-प्रसारको अभावमा ओझेलमा परेका बताउनुभयो । मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचार-प्रसारको अभावमा कान्छी बहिनी त्रिवेणी भगवतीदेवीको मन्दिर ओझेलमा परेको बताउँदै उहाँले प्रचार-प्रसारका लागि यस धार्मिकस्थलको बारेमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । 

bijuli pol.jpg

धार्मिक गन्तव्य निर्माण गर्ने अभियान सुरु भएको जनाउँदै सिलवालले यसले सार्थकता आउन दशौँ वर्ष लाग्ने बताउनुभयो । यी चार धामको भौतिक संरचना निर्माणका लागि परिकल्पनासहित योजना लिएर आउन आग्रह गर्दै उहाँले आफूले प्रदेश, केन्द्र सबै ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“हिन्दु धर्मावलम्बीको प्राचीनग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भएअनुसार भगवान् शिवले  त्रिशूल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशूली, नदी र गणेश हिमालको काखबाट बगेको र ती सबै मर्स्याङ्दी नदीको पवित्र मिलन बिन्दु मुग्लिङ बेनीमा रहेको छ”, अभियानका संयोजक रामबहादुर लामाले भन्नुभयो । उहाँका अनुसार गोरखा जिल्लामा पर्ने प्रसिद्ध त्रिवेणी भगवती, मनकामना मन्दिर, चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने इच्छाकामना मन्दिर र तनहुँको छिम्केश्वरी मन्दिरलाई एकआपसमा जोडी धार्मिक गन्तव्यका रूपमा विकास गर्नको लागि नागरिकस्तरबाट प्रयास चालिएको हो । 

bijuli pol.jpg

चितवनको इच्छाकामना गाउँपालिकाका पूर्व उपाध्यक्ष कृतिकुमार श्रेष्ठले इच्छाकामना मन्दिरसम्म पुग्ने मोटरबाटो स्तरोन्नति ,खानेपानीको व्यवस्था, मन्दिर निर्माणलगायत अन्य भौतिक संरचना निर्माण गरेपनि सोचे जस्तो दर्शनार्थी नआएको बताउनुभयो । उहाँले मनकामनामा आउने धार्मिक पर्यटकलाई इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीसम्म पुर्‍याउनका लागि प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । 

गोरखाको सहिद लखन गाउँपालिका-३ का वडाध्यक्ष दीपक पाण्डेले चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस अभियानमा जनप्रतिनिधि, स्थानीय सबै लाग्नुपर्नेमा जोड दिनुभयो । त्रिवेणी मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्य गुरुङ, इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोरा, इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिङका अध्यक्ष कल्याण गुभाजु, उद्योग वाणिज्य सङ्घ मनकामना बजार इकाईका अध्यक्ष हरिकुमार श्रेष्ठले तिनै तहका सरकारलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्नका लागि दबाब सिर्जना गर्न आवश्यक बताउनुभएको थियो । 

bijuli pol.jpg

यहाँका धार्मिक महत्वबारे प्रचार-प्रसार गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो । मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरेपनि कान्छी बहिनी त्रिवेणी भने ओझेलमा परेको सहभागीले बताएका छन् । त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात् मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक परम्परा रहिआएको छ । वर्षको मुख्य गुठीपूजा गर्दा मनकामना मन्दिरमा त्रिवेणी देवीबाट लगेको जल अनिवार्यरुपमा अर्पण गर्ने गरिन्छ । मनकामना, त्रिवेणी, छिम्केश्वरी र इच्छाकामना दिदीबहिनी रहेको किम्बदन्ती छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०८:५१:०३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology