जलविरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नंं. ६ स्थित जलविरेमा पहिलो पटक हुन लागेको इच्छाकामना जलविरे धार्मिक महोत्सवको तयारी पुरा भएको छ । कार्तिक १५ गतेदेखि २३ गतेसम्म संचालन हुने महोत्सवको पहिलो दिन आज उद्घाटन हुने र भोलीदेखि कथा वाचन हुनेछ ।
महोत्सवको उद्घाटन प्रमुख अतिथिको रुपमा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले दिउँसो १ बजे गर्ने तय भएको आयोजकले जानकारी दिएको छ । पितृमोक्ष र मन्दिरको संरक्षण पर्यटकीय आकर्षणको लागि भौतिक संरचना निर्माण गर्न आवश्यक रकम जुटाउन भागवत तथा धार्मिक महोत्सवको आयोजना गरिएको जलदेवि मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन गुरुङले बताउनुभयो ।
महोत्सवमा धार्मिक अभियन्ता पण्डित बासुदेव घिमिरेको मुखराविन्दबाट कथावाचन हुनेछ । महोत्सवमा कथावाचनको अलावा तुलादान, ब्रतबन्ध, पितृमोक्ष कार्य, चौरासी पूजा जस्ता विविध धार्मिक कार्यहरु हुने पण्डित बासुदेव घिमिरेले बताउनुभयो ।
मुग्लिन–नारायणगढ सडक खण्डको मुख्य राजमार्गमै पर्ने उक्त मन्दिर स्थल अत्याधिक दुर्घटना भएर यात्रुहरुको अकाल ज्यान जाने हुन थालेपछि भरतपुर निवासी डा. हेमबिर श्रेष्ठले २०४०–४१ सालतिर मन्दिर निर्माण गरिदिएका हुन् । सोही मन्दिरको चौतर्फि विकासका लागि हाल मन्दिर संरक्षण समितिले डिपिआर निर्माण गरि धार्मिक महोत्सव लगाउन लागिएको हो । महोत्सवको प्रचारप्रसारका लागि मंगलबार जलविरेदेखि मौवाखोलासम्म मोटरसाईकल ¥यालीको समेत आयोजना गरिएको थियो ।