कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा गत आवमा ९२ घर घर विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले उपलब्ध गराएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९।०८० उक्त घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो ।
पालिकाले वडा कार्यालय मार्फत विपन्न परिवार पहिचान गरि वडा नं. १ मा १९, वडा नं. ३ मा १८, वडा नं. ४ मा १९, वडा नं. ५ मा १८ र वडा नं. ६ मा १८ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । जस अनुसार ९२ घरका ३७२ जना प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
गाउँपालिकामा नयाँ जनप्रतिनिधि आउने बित्तिकै पहिलो निर्णयको रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको थियो । सोही अनुरुप निर्णय कार्यान्वयन गर्दा गत आर्थिक वर्ष २०७९।०८० बाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।
पहिलो चरणमा ९२ घर परिवारको स्वास्थ्य बिमा गरि कार्यक्रम सुरु गरिएको भए पनि चालु आर्थिक वर्ष पनि निरन्तरता दिई यसपटक अझै धेरै परिवारको बिमा गरिने उनले बताए ।