काठमाडाै । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ।
यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ।
विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुर्याएका छन्।
छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ। मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ। यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ। यो कार्य वैधानिक हुँदैन। तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ।
गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन्। ‘विदेशमा पैसा धेरै कमाइन्छ, दुःख धेरै गर्नुपर्दैन, विदेश जान नागरिकता भए अन्य कागजात बनाउन एक दिन पनि लाग्दैन, पहिला विदेश जाने मन हुनुपर्छ’ भन्दै गाउँगाउँमा तस्कर तथा एजेन्टहरू पुग्छन्।
यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो। नेपालभित्रै पनि मानव तस्कर भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ बताउँछन्।
उनका अनुसार नेपाल–भारतबीच खुला सिमाना छ। नेपालबाट भारतमा पुर्याई रोजगारी दिलाइदिने विश्वासमा पारेर बेचबिखन गर्ने, यौनधन्दामा लगाउने गरेको पाइन्छ। ‘बेचबिखन तथा मानव तस्करीमा पारेर लगिने गन्तव्य देश अहिलेसम्म आएका उजुरी तथा अनुसन्धानले भारतलगायत खाडी मुलुक हुन्,’ उनले भने, ‘आप्रवासी श्रमिकका रूपमा कोही अमेरिका कोही युरोपेली देशमा जाने नाममा पनि मानव ओसारपसार भएको स्थिति छ तर तथ्यका आधारमा भारत तथा खाडीका देशमा बढी देखिएको छ।’
उनले थपे, ‘विदेश जान खोज्नेलाई सुरुमा दलालले विभिन्न भ्रम र प्रलोभनमा पार्छन् । उनीहरूलाई आफूहरू पीडित भइन्छ भन्ने आभास हुँदैन। धेरै युवा घुम्न तथा काम गर्न, रमाइलो गर्ने भन्ने हिसाबमा विदेश गइरहेका हुन्छन्। उनीहरूलाई आफू बेचबिखन तथा तस्करीमा परेको महसुस नै हुँदैन।’
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा रूकुम र दाङका धेरै घरपरिवारका सदस्य ठगीमा परेका छन्। ती जिल्लामा ‘एक घर एक अमेरिका’ भन्ने होडबाजी नै चलेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।