कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा रहेको भुकम्प प्रभावितहरुको अजिंगिरे नयाँबस्तीमा निर्माण गरिएको खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा अजिंगरे नयाँबस्ती खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष अविना चेपाङको सभापतित्वमा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा योजना निर्माणको सम्बन्धमा सार्वजनिक लेखापरीक्षण अन्तर्गत आम्दानी खर्च विवरणको जानकारी दिईएको थियो । जसअनुसार ९ लाख ७ हजार २ सय ६४ रुपैयाँ लागतमा योजना निर्माण गरिएको हो ।
योजनाको जम्मा लागतमा सिआरएस नेपाल र सप्रोस नेपालले ५ लाख ७२ हजार ६ सय ७९ रुपैयाँ, इच्छाकामना गाउँपालिकाको २ लाख १६ हजार र स्थानीयको १ लाख १८ हजार ५ सय ८४ रुपैयाँ व्यहोरेको छ ।

उक्त बस्ती इच्छाकामना गाउँपालिका ३ को धुषामा रहेका भुकम्प प्रभावितहरुलाई पुनःस्थापना गर्ने कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा इच्छाकामना गाउँपालिकाले निर्माण गरेको थियो । सोही बस्तीमा अहिले योजना अन्तर्गत १८ वटा धारा निर्माण गरि खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायत संघसंस्थाका प्रतिनिधि, स्थानीय समुदायको सहभागिता रहेको थियो ।