Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरका सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

भरतपुर महानगरका सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

रासस

१९, भाद्र २०८०
भरतपुर महानगरका सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

भरतपुर । चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले बताइन् ।

images

दुई दिनसम्म सञ्चालन हुने तालिमको सोमबार शुभारम्भ गर्दै प्राडा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताइन् ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन् । “हामी बजारबाट तरकारीमात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौँ, त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौशी खेतीको अपरियार्यता छ”, उनले भनिन् ।

कृषि सङ्कायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिको विषयमा जानकारी गराएका थिए । उनीहरूले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालयबीचको साझेदारी कायम रहनुपर्ने बताए ।

निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिकाअन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता रहेको छ ।

“तालिममा कौशी खेतीको परिचय, स्थान छनोट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गरिक मलका स्रोत, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आइपीएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम–२ बनाउने विधि, पोलीब्याग र प्रोब्यागमा माटो राख्ने विधिलगायत विषयबारे छलफल र सामूहिक अभ्यास गराइने छ”, निर्देशक भट्टराईले भने ।

तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापनलगायतका विषयमा लामो समय अनुभव सँगालेका प्रशिक्षक लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १०:२९:५३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology