गोरखा । केही दिनदेखिको लगातारको बर्षाले शहिदलखन गाउँपालिका–७ बुंकोटस्थित देउराली भन्ज्याङको मुख्य सडक भासिएको छ । बुंकोट–नाम्जुङ खण्डमा पर्ने उक्त सडकको आधाभन्दा बढी भाग चिरा परेर भासिएको वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।
‘केही दिनअघिदेखि नै त्यहाँको सडक हल्का चर्किएर भासिने अवस्थामा थियो, हामीले प्लाष्टिक राखेर छोपेका थियौँ,’ उनले भने, ‘हिजो त्यही चर्किएको भागबाट आधाभन्दा बढी सडक भासियो ।’ सडक भासिएसँगै सवारी आवागमनमा समेत समस्या भएको उनले जानकारी दिए । उनका अनुसार सडकभन्दा तल रहेका केही घरहरु समेत जोखिममा परेका छन् ।
शनिवार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, पूर्वाधार बिकास कार्यालयका प्रतिनिधि लगायतले सो क्षेत्रको स्थलगत निरिक्षण समेत गरेका छन् । भासिएको सडकको माटो र ढुंगा पन्छाउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
समस्याको दीर्घकालिन समाधानका लागि पूर्वाधार बिकास कार्यालयसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । उक्त सडक समयमै मर्मत नभए ठुलै जनधनको क्षति हुन सक्ने भन्दै उनले सचेत समेत गराए । दरौदी दैनिकबाट