Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

इच्छाकामना न्युज

३, भाद्र २०८०
झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’
images

झापा। अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धकमा रहेकी छिन् ।

images
images

छोरी बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् ।

“ओमान लाने भनेर इराक पुर्याएछन्”, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन् , “छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन् ।”

तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन ।

कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छिन् । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।

इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ ।

इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् ।

“अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ”, छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भनिन्, “चाउचाउ र कहिलेकाहीँ रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।”

पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ ।

गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् ।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - ०९:१८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology